चैत्राष्टमी मेलाका अवसरमा बागलुङमा ‘कालिका कप’ भलिबल सुरु

डिसी नेपाल
२४ चैत २०७८ १९:१५
112
Shares

बागलुङ । आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । चैत्राष्टमी मेलाका अवसरमा आयोजित सो प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको भलिबल प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएको खेल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफीसहित रु तीन लाख, दोस्रोले रु एक लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ ।

विगतको तुलनामा यसपालि पुरस्कारको राशि बढाइएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गर्दै आएको चैत्राष्टमी मेलामा भलिबल प्रतियोगिता निरन्तर समावेश हुँदै आएको छ । खुला प्रतियोगिता रहेकाले बाहिरी जिल्लाका खेलाडी टोलीले पनि प्रतियोगितामा भाग लिएको खेल उपसमितिका सदस्य किशोर थापाले बताए ।

“आज उद्घाटन खेल मात्र भयो, अरु खेल शुत्ररबार बिहानैदेखि सुरु हुन्छन्, फाइनल स्पर्धा मेलाको अन्तिम दिन यही चैत २८ गते हुन्छ”, उहाँले भन्नुभयो । खुला प्रतियोगिता भएकाले खेल रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । कोभिड–१९ ले विगत दुई वर्षसम्म चैत्राष्टमी मेला रोकिएपछि भलिबललगायतका प्रतियोगिता पनि प्रभावित बनेका थिए । अहिले महामारी थामिएर स्थिति सहज बनेपछि मेलाको आयोजना गरिएको हो ।

खेलकुद र मनोरञ्जनका क्रियाकलाप मेलामा समेटिएका छन् । मेलामा भलिबलसँगै लोकदोहोरी, लोकभजन, परम्परागत छेलोलगायतका प्रतियोगिता राखिएको छ । लोक दोहोरीमा पनि भलिबलकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु दुई लाख, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १११ र उपविजेताले रु पाँच हजार ५५५ प्राप्त गर्नेछन् । बर्सेनि चैत्राष्टी पर्व पारेर हुने यस मेलालाई पर्यटन र व्यापार प्रवद्र्धनका दृष्टिले पनि महत्वका साथ लिइन्छ । मेलामा स्थानीय उत्पादनको बजार लाग्छ । डोका, नाङ्ला, ठेकाठेकी जस्ता मौलिक उत्पादन बेच्न गाउँदेखि व्यापारी मेलामा झर्छन् । हस्तकला र घरेलु सीपबाट बनेका सामग्रीको किनबेच पनि उत्तिकै हुन्छ । मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिएको छ । मौलिक कला, संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य पनि प्रस्तुत हुन्छन् । कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर दर्शकरभक्तजनको घुइँचो नै लाग्छ । चैत्राष्टमीमा विशेष पूजाआजा हुने भएकाले मन्दिरमा टाढाटाढाबाट दर्शनार्थी आउँछन् ।

चैत्राष्टमी मेला जिल्लाको पहिचान र परम्परासँग पनि जोडिएको छ । पहिलेपहिले तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै ठूलो मेलाका रूपमा यस मेलालाई लिने गरिन्थ्यो । मेला आयोजनामा रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *