स्थानीय निर्वाचनः फिदिम नगरपालिकामा गठबन्धनको गठजोड कमजोर

डिसी नेपाल
२५ चैत २०७८ ८:४६
3.3k
Shares

फिदिम। स्थानीय तहको निर्वाचन मिति दिनदिनै नजिकिँदा सुदूरपूर्वको पाँचथरको एकमात्र सदरमुकाम फिदिम नगरपालिकामा पनि चुनावी सरगर्मी सुरु भइसकेको छ। सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने चर्चासँगै नेकपा एमाले पनि राप्रपा र राप्रपा नेपालसित चुनावी तालमेलको छलफलमा व्यस्त छ।

१४ वडा रहेको फिदिम नगरपालिकामा ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत जितेको थियो। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए। मेयरमा कांग्रेसका ओनाहाङ नेम्बाङले करिव ६ हजार ९६, एमालेका राजकुमार भण्डारीले ५ हजार ४ सय र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ३ हजार ८ सय ८३ मत ल्याएका थिए।

अबको आसन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र समाजवादी मिलेको अवस्थामा गठबन्धनको सहज जित हुने आंकलन गर्नेको संख्या पनि धेरै छ। तर, राप्रपाले ल्याएको हिन्दु राज्यको मुद्दा र राजेन्द्र लिङदेनको बढिरहेको साखका कारण राप्रपा मजबुत हुँदै गएको छ।

राप्रपा नेपालका सहमहामन्त्री क बर्गका निर्माण व्यवसायी तेजकुमार कुरुङमाङ पनि पार्टीको साख बढाउन निक्कै सकृय छन्। यी दुई राप्रपासित एमालेको समीकरण भएको खण्डमा गठबन्धनलाई सहजै जित निकाल्न कठिन हुने विश्लेषण पनि गर्न थालिएको छ।

कांग्रेसबाट हालका मेयर नेम्बाङ दोहोरिने प्रयासमा छन् भने राम्रो समिकरण भएको खण्डमा पहिला पराजित भएका एमाले पार्टीका जिल्ला अध्यक्ष भण्डारी पनि दाबेदार हुन खोजिरहेका छन्। एमालेबाट युवा नेता तथा पार्टी उपसचिव पृथ्बी लावती र कांग्रसबाट प्रदेश समिति सदस्य तथा महासमिति सदस्य मित्रप्रसाद काफ्ले र केदारनाथ बाँस्कोटाको दावी छ।

एमालेबाट लावती र कांग्रेसबाट काफ्लेले टिकट पाउने सम्भावना बढी देखिन्छ। एमाले नेता लावती भन्छन्, ‘म मेयरको दाबेदार हुँ, पार्टीले मूल्याङकन गर्छ नै।’ यस्तै कांग्रेस नेता काफ्ले पनि पार्टीमा अरुले मेयरमा दावी गरेको जानकारी नपाएको भन्दै आफू दाबेदार रहेको बताउँछन्।

प्रतिनिधिसभा सदस्य, एमाले केन्द्रीय सदस्य तथा पाँचथर पार्टी इन्चार्ज बसन्तकुमार नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएर राम्रो काम गरेको भन्दै त्यसको प्रभाव नगरमा पर्ने र केही मत थप हुने केहीको विश्वास छ।

एमालेबाट फुटेको समाजबादीको नगरमा पुग नपुग २ सय मतमात्र रहेको बताइन्छ। माओवादी केन्द्रको करिव २ हजारको हाराहारीमा मत छ। नेपाली कांग्रेसले माओवादी केन्द्रसित निर्वाचन गठबन्धन गर्नु नहुने तर्कवाला कांग्रेस कार्यकर्ताको संख्या पनि अधिक छ। ‘हिजो जनयुद्धका नाममा हामीमाथि जघन्य अपराध गर्नेसित भएको गठबन्धनले हसिया हथौडामा भोट हाल्न सकिन्न।’ एक कांग्रेस कार्यकर्ता भन्छन्।

केही कार्यकर्ता र नेताहरु बागी उमेद्वारदेखि अन्तरघातसम्म हुने बताउन थालिसकेका छन्। पाँचथर उद्योग वाणिज्य संघको १२ औं साधारणसभामा ५ दलको गठबन्धनलाई एमालेले पराजित गरेको छ। ३ दिनअघि भएको साधारणसभामा एमालेका युवा नेता नवराज घिमिरेले ५ दलको गठबन्धनका अध्यक्षका उमेद्वार नरेन्द्र अधिकारीलाई ७९ मतान्तरले पराजित गरे।

अध्यक्ष घिमिरे, २ जना उपाध्यक्ष र ३ जना सदस्य गठबन्धनबाहिरबाट निर्वाचित भए। उद्योग वाणिज्य संघ निर्वाचनको प्रभाव आगामी स्थानीय निर्वाचनमा पर्ने देखिन्छ। कांग्रेसका एक नेताका अनुसार २ सय ५४ जना मतदाताले अन्तरघात गरेपछि अध्यक्षसमेत ६ जना गठबन्धनबाहिरबाट निर्वाचित भएका हुन्।

‘संघको निर्वाचनमा त अन्तरघात भयो भने स्थानीय निर्वाचनमा मज्जले हुन्छ।’ नेपाली कांग्रेसकै एक कृयाशील सदस्यले डिसी नेपालसित भने। कांग्रेस र माओवादी केन्द्रको जनाधार हुनु अन्य गठबन्धन दलको संगठन र मतदाता अति न्यून हुनुले फिदिम नगरमा गठबन्धनलाई सहज देखिन्न।

५ दलीय गठबन्धन केका लागि, त्यसको औचित्य पुष्टि गर्ने आधार देखिन्न। अनि एमालेले निर्वाचनमा एमसीसीको मुद्दा उठाउने प्रवल सम्भावना पनि छ। यदि त्यस्तो भयो भने हिजो एमसीसीको खुलेर विरोध गर्ने कांग्रेस, माओवादी केन्द्र र समाजवादीका केही मतदाताले एमालेलाई मत नहाल्लान भन्न सकिने अवस्था छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.