मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

डिसी नेपाल
२५ चैत २०७८ १३:२७
36
Shares

मनाङ। टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ। तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ।

जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ८० प्रतिशतभन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ। विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिरबाट १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ ।

पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ उनले १५ वर्षमुनिका बालबालिकामा टाइफाइडको सङ्क्रमण ११ गुणाबढी हुने भएकाले पन्ध्र महिनादेखि १५ वर्षमुनिका समूहलाई प्राथमिकतामा राखेर खोप दिन लागेको बताए।

प्रमुख आचार्यकाअनुसार अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जनशक्ति परिचालन गरिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम तथा अभिमुखीकरण गरी खटाइसकिएको छ । यसका लागि जिल्लामा ७५४ खोपको मात्रा प्राप्त भएको छ। खोप लगाएपछि ज्वरो आउने, खोप लगाएको भाग रातो हुने, सुन्निने, दुख्ने, शरीरमा बिमिरा आउने, जोर्नी दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिने हुँदा आत्तिन नहुने जनाइएको छ।

टाइफाइड म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिको दिसाका माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुगेर स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीका माध्यमबाट सर्ने गर्दछ। कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएका, उच्च ज्वरो, सिकिस्त बिरामी, एड्सको लक्षण देखिएका व्यक्तिले टाइफाइडविरुद्धको खोप लगाउन नहुने उनले बताए। १५ वर्षमाथि उमेरका व्यक्तिले सरसफाइमा ध्यान दिनसके उक्त रोगबाट बच्न सकिन्छ। टाइफाइडविरुद्धको खोप देशैभरका ७५ लाख बालबालिकालाई लगाइनेछ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.