झलनाथ खनालले गरे अखिलको चुनावी अभियान उद्घाटन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको भातृ संगठन अनेरास्ववियूको चुनावी अभियान उद्घाटन गरेका छन् ।
‘गाउँ गाउँ जाउँ, एकीकृत समाजवादीलाई जिताऔँ’भन्ने मूल नाराका साथ अनेरास्ववियूले राजधानीमा आयोजना गरेको उपत्यका स्तरीय विशेष कार्यकर्ता भेलामा बोल्दै खनालले अनेरास्ववियू पार्टीको नर्सरी भएकोले आसन्न चुनावमा यस्को भुमिका महत्वपूर्ण हुने उल्लेख गरे।
अब अनेरास्ववियूको चरित्रमा पनि समाजवादी संस्कृति झल्किनुपर्ने आवश्यकता औंल्याउँदै खनालले नेपालमा समाजवादी क्रान्तिको कार्यभार नेकपा (एकीकृत समाजवादी)ले मात्रै पूरा गर्न सक्ने र त्यसका लागि अनेरास्ववियू अग्रपंक्तिमा उभिनुपर्ने बताए ।
अनेरास्ववियूका कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैमाथि विश्वास गर्नुपर्ने खनालको भनाइ छ । अनेरास्ववियूका कार्यकर्तालाई कम्युनिस्ट सिद्धान्त, इतिहास र विद्यमान परिस्थितिको गहिरो अध्ययन गर्न सुझाव दिँदै खनालले भने, ‘तपाईंहरुले विधी, निति र मूल्य कहिल्यै नछोड्नुहोला । आफ्नै पार्टी भित्र मान्यताको लडाइँ लड्नुपरे पनि पछि हट्न मिल्दैन । पार्टी भित्रै ओली प्रवृत्ति देखा पर्यो भने पनि त्यसको कडा प्रतिवाद गर्नुपर्छ ।’
अनेरास्ववियूका उपत्यका संयोजक प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष हिरेन्द्र शाही, महासचिव आरती लामा र उपमहासचिवहरु नरेश न्यौपाने र मिलन राइले आफ्ना धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment