कास्कीमा गठबन्धनः सधैं दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल

डिसी नेपाल
२७ चैत २०७८ १३:५६
108
Shares

पोखरा। केन्द्रीय सत्ता गठबन्धनभित्रका दलहरू स्थानीय निर्वाचनमा उम्मेदवार चयन लगायत विषयमा कास्कीमा भने अल्मलिएका छन्। केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाई हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सन्चालनसम्ममा अलमल देखिएको हो।

गठबन्धनभित्रैको दल जनता समाजवादी पार्टीले भने कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुंग्याएको छ। अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ। त्यसबाहेक अन्नपूर्णका आठ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भैसकेकाे छ।

उपाध्यक्षसहित दुई वडाध्यक्ष र आठ सदस्यमा गठबन्धनसँग मिल्न सकिने जसपा नेताहरू बताउँछन्। ‘हामीले जिल्लाका कुनै पनि पालिकामा प्रमुख लिने ठाउँ छैन। कुनै पालिकाको उपाध्यक्ष लिएर सबैजसो वडामा सहभागी हुने हिसाबले जान्छौं,’ एक नेताले भने, ‘प्रभावका हिसाबले अन्नपूर्णमा हाम्रो दावी छ ।’

जसपा नेता नेत्र चपाईं पार्टीको तर्फबाट गाउँ घुम्ने र उम्मेदवार चिनाउने गरी काममा व्यस्त छन् । भन्छन्, ‘अन्नपूर्णको उपाध्यक्ष लिने र सबैजसो वडामा प्रतिनिधित्व हुने गरी गठबन्धन हुन्छ । हामी त्यसकै पक्षमा छौं।’

कांग्रेसबाट १० वटा वडामा उम्मेदवार सर्वसम्मत भैसकेका जिल्ला सचिव भानु ढकालले जानकारी दिए । ‘वडामा निर्णय भएको छ। सबैले सर्वसम्मत गर्नुभएको छ,’ उनले भने, ‘अहिले त्योभन्दा माथिल्लो निकायमा सिफारिस भएको छैन । हामीले आन्तरिक तयारी सुरू गरिसकेका छौं ।’

एमालेको सिफारिस सकिने बित्तिकै आफूहरूले फटाफट उम्मेदवार टुंग्याउने उनको भनाइ छ । ‘हामी एमालेको सिफारिस हेरेर बसेका छौं । त्यो टुंगिएपछि उम्मेदवार घोषणा गर्छौं । त्यतिबेला गठबन्धन होस् वा नहोस् वास्ता गर्दैनौं,’ उनले भने।

माओवादीको जिल्ला स्तरीय नेताहरूले मादी गाउँपालिकाको प्रमुखमा दावी गरेका छन्। २०७४ सालको चुनावमा कांग्रेससँग मिलेर मादीका तीन वडामा अध्यक्ष जितेको माओवादीले पाँच पालिकामध्ये मादीमा आफ्नो दावी रहने बताएको हो । तर स्थानीय नेताहरू भने उपाध्यक्ष आफूले लिएर कांग्रेसलाई अध्यक्ष दिन राजी भएका छन् ।

‘जनाधार हेर्दा गठबन्धनभित्र कांग्रेस पहिलो पार्टी हो । उसलाई अध्यक्ष दिँदा हाम्रो थोरै सहयोगले चुनाव जित्छ,’ वडाध्यक्ष समेत रहेका नेता लालबहादुर गुरुङ भन्छन्, ‘उपाध्यक्षमा हामीले लियौं भने कांग्रेसका साथीहरूले पनि खुशी भएर भोट हाल्छन् । यसरी सहमति गर्नुपर्छ । मैले नेतृत्वलाई त्यहि सुझाव दिएको छु।’

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा प्रमुख पद ताकेको छ । जिल्ला अध्यक्ष धनराज आचार्य आफैले पोखराको मेयरमा दावी गरेका छन् । पार्टीमा पूराना नेता श्रीनाथ बराल समेत मेयरको दावेदार हुन् । तर, पोखराको मेयर कसले पाउने भन्ने टुंगो केन्द्रबाट हुने भएकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

२०७४ सालको स्थानीय चुनावमा अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको हो । ७२ वडामध्ये २४ वडा कांग्रेसले, ३ वडा माओवादी र बाँकी एमालेले जितेको हो ।

कांग्रेस भने पालिकाको प्रमुख कुनै हालतमा नछोड्ने पक्षमा छ । २०७४ सालको मतका आधारमा सबै पालिकामा कांग्रेस दोस्राे रहेको भन्दै प्रमुख पद आफूले लिएर अरुमा गठबन्धन दललाई मिलाउने प्रयास कांग्रेसबाट भैरहेको सचिव ढकालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.