सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्व अर्थमन्त्री पौडेल
काठमाडौं। पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए। ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन्। आर्थिक अवस्था यस्तो हुने थिएन। पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो। मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो।’ पौडेलले भने ।
मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए। आफू असफल भएपछि राष्ट्र बैंकमा गर्भनरमाथि प्रहार गरेको उनको भनाइ छ।
हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गर्भनरलाई सरकारका अवाञ्छित गतिविधि पूरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ । ‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे। राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे।’ पौडेलले भने ।
अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह-सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’
वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो। अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।
अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ । व्यापार घाटाले छलाङ मारेको भन्दै उनले भने, ‘यो सरकारको नीतिको कारण वित्त प्रणालीमा निराशा छाइरहेको छ । अर्थनीति र वित्त नीतिका निकायबीच पनि आपसमा समझदारी छैन। पारस्परिक सम्बन्धको अभाव छ ।’







डिसी नेपाल








Facebook Comment