अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा (पूर्णपाठ)

डिसी नेपाल
२७ चैत २०७८ १४:४८
100
Shares

काठमाडौं। एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन्। उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए।

एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्। नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए।

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ। ‘राजनीतिक अवस्स्थाको कुरा पछि गर्दै गरौंला। अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भने।

सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकमा गर्भनरमाथि लगाइरहेको उनको आरोप छ। सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने बताए।

अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उनको आरोप छ। अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने।

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी बताए।
पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए। मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए। ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन्। आर्थिक अवस्था यस्तो हुने थिएन। पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो। मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो।’ पौडेलले भने ।

मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए। आफू असफल भएपछि राष्ट्र बैंकमा गर्भनरमाथि प्रहार गरेको उनको भनाइ छ।

हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गर्भनरलाई सरकारका अवाञ्छित गतिविधि पूरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ । ‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे। राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे।’ पौडेलले भने ।

अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह-सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’

वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो। अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।

अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ । व्यापार घाटाले छलाङ मारेको भन्दै उनले भने, ‘यो सरकारको नीतिको कारण वित्त प्रणालीमा निराशा छाइरहेको छ । अर्थनीति र वित्त नीतिका निकायबीच पनि आपसमा समझदारी छैन। पारस्परिक सम्बन्धको अभाव छ ।’

पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिडिरहेका छन्,’ खतिवडाले भने ।

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ । अहिले आर्थिक बृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अवर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.