गभर्नर हटाउने मन्त्रिपरिषद बैठकमा के-के भएको थियो?

डिसी नेपाल
२८ चैत २०७८ १२:४४
360
Shares

काठमाडौं। मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको भन्दै पछिल्लो समयमा सरकारको आलोचना भइरहेको थियो। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सम्हाल्न नसकेको भन्दै सकारको आलोचना भइरहँदा नेपाली कांग्रेसका जिम्मेवार नेताले अर्थमन्त्री शर्माको विकल्प खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिएका थिए।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विशेष कदम चाल्न सक्ने अनुमानका बीच चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नै निलम्बन गर्ने निर्णय गर्‍याे।

बिहीबार मन्त्रिपरिषद बैठक बस्ने प्रचलन नै हो। मन्त्रिपरिषद बैठक औपचारिक रुपमा सुरु भएपछि अर्थमन्त्री शर्माले ‘गभर्नरले साह्रै दुख दिए। सरकारले भनेको काम नगर्ने तर केपी ओलीको पक्षमा मात्रै काम गरे।

हामीले भनेको काम भएन’ भन्दै प्रधानमन्त्रीलाई ब्रिफिङ गरे। जवाफमा प्रधानमन्त्री देउवाले ‘ओलीको मान्छेलाई हटाउँ, प्रस्ताव ल्याउनू’ भनेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

उक्त बैठकमा अर्थमन्त्रीको ब्रिफिङ सुनेपछि देउवाले तत्कालै प्रस्ताव ल्याउन भनेका थिए। देउवाले गभर्नर हटाउने विषयमा अन्य मन्त्रीसँग कुनै परामर्श नगरेको एक मन्त्रीले जानकारी दिए।

‘अर्थमन्त्रीजीले सरकारले भनेको गभर्नरले मानेनन्, ओलीको कार्यकर्ता जस्तो भएर काम गरे भन्नुभयो, प्रधानमन्त्रीज्यूले ओलीको मान्छेलाई हटाउँ प्रस्ताव ल्याउनु भन्नु भयो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अन्य मन्त्रीजीहरुसँग केही छलफल पनि भएन। त्यसपछि उहाँलाई (गभर्नर) निलम्बन गर्ने र छानवीन समिति गठन गर्ने कुरा भयो।’

मुलुकको अर्थतन्त्रमा दूरगामी प्रभावलगायतका विषयमा ध्यान नै नदिइ हचुवाको भरमा गभर्नरलाई कारवाही गर्ने प्रस्ताव मन्त्रिपरिषदमा अर्थमन्त्रीले लगेका थिए।

त्यसो त गभर्नर अधिकारीमाथि देखिने गरी कुनै आरोप समेत छैन। खाली सूचना चुहाएको आरोप लगाइएको छ। कार्यसम्पादन राम्रोसँग गर्न नसकेको, सुनियोजित रुपमा सरकारलाई बद्नाम गर्न लागिपरेको आरोप लगाइएको छ।

गभर्नर निलम्बित गर्ने सरकारको निर्णय यतिबेला विवादमा परेको छ। अर्थविद् र नागरिक समाजका अगुवाले गभर्नरलाई कारवाही गर्ने सरकारको निर्णयले अर्थतन्त्र झन् धरापमा पर्ने चेतावनी दिएका छन्।

विशेष गरी अमेरिकाबाट आएको ४० लाख अमेरिकी डलरको विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरबीच विवाद चलिरहेको थियो। उक्त विवाद सार्वजनिक भएपछि गभर्नरमाथि गोप्य सूचना चुहाएको आरोप लगाइयो।

तीन चरणको चुनावका लागि अर्थमन्त्रीले चुनाव खर्च जोहो गर्ने नियतले गभर्नरलाई कारवाही गराउन सफल भएको र त्यसको मूल्य कांग्रेसले चुकाउनु पर्ने एक कांग्रेस नेताले दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.