मारिने कार्यकर्ता, पद पाउने आफन्त कहिलेसम्म ?

डिसी नेपाल
२९ चैत २०७८ ११:५४
324
Shares

काठमाडौं। अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री बन्नेबित्तिकै सुरुमै पहिलो प्राथमिकताको काम जस्तै गरी अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर ‘आफ्ना मान्छे’लाई नियुक्त गरेको देउवा सरकारले अहिलेसम्म पनि आफ्ना आफन्त र निकटका व्यक्तिहरुलाई लाभका पदमा नियुक्त गर्ने क्रम जारी नै राखेको छ।

पछिल्लो समय देउवा सरकारले केही राजदूतहरु नियुक्त गरेको छ। र, यी नियुक्ति आफन्त र आफ्ना निकटका मान्छेहरुलाई दिइएको भन्दै निकै आलोचना भइरहेको छ। स्थानीय निर्वाचन आउँदैछ।

त्यसैले आचार संहिता लागू हुनु केही दिन अगाडि मात्रै सरकारले विभिन्न २० वटा देशमा राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। तर सिफारिस गरिएका व्यक्तिहरु सत्ताधारी दलका नेता र मन्त्रीहरुका आफन्तहरु भएको भन्दै चर्को आलोचना भइरहेको छ।

अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएका कैलाश पोखरेल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका आफन्त र श्रीलंकाका लागि सिफारिस राजदूत वासुदेव मिश्र ऊर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालका आफन्त हुन्।

यसअघिकै नियुक्तिका बेला विवादमा तानिएकी शर्मिला पराजुलीलाई स्पेनको राजदूत सिफारिस गरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजदूत नियुक्तिको मापदण्डबारे प्रश्न उठाएका छन्।

त्यसैगरी एकीकृत समाजवादीकै अर्का नेता झलनाथ खनालका पूर्व सल्लाहकार मिलन तुलाधरलाई रुसका लागि राजदूतमा सिफारिस गरिएपछि नेताहरूले आफू निकट र आफन्तलाई नियुक्तिमा प्राथमिकता दिएको आरोप लागेको छ।

यसरी आफन्तलाई नियुक्त गर्नेदेखि लिएर लेनदेनमा नियुक्ति दिने काममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि मुछिने गरेका छन्। देउवापत्नी आरजु देउवाले धेरैजसो लेनदेनको डिल गर्ने गरेको आरोप लाग्ने गर्छ।

लाभका पदमा नियुक्ति पाउनको लागि आरजुको किचन क्याबिनेटबाट पारित हुनुपर्छ भन्ने चर्चा चल्ने गरेको छ। सुरुवाती राजनीतिमा निकै निष्ठावान नेता मानिने देउवा आरजुकै कारण यस्ता विवादमा पर्ने गरेको उनलाई पहिलेदेखि चिनेका कांग्रेस नेताहरुले नै बताउने गरेका छन्।

माओवादी अध्यक्ष प्रचण्ड त अहिले स्थानीय तहको निर्वाचनमा पुत्री मोहमा लिप्त छन्। एक कार्यकाल भरतपुर महानगरको मेयर खाइसकेकी रेणु नै फेरि पनि भरतपुर महानगरमा सत्ताधारी गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार हुनुपर्ने अडान उनले गठबन्धनमा राखिरहेका छन्।

उनकी बुहारी बिनाले मन्त्री पद पाइसकेकी छिन्। उनको सचिवालय कान्छी छोरी गंगाले चलाउँछिन् । हालसालै उनले आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सांसद पनि बनाइछाडे । स्थानीय निर्वाचन एक महिनापछि हुँदैछ।

यसका लागि नेताहरुले गाउँगाउँमा कार्यकर्ता परिचालन गरेका छन्। कार्यकर्ताले गाउँगाउँमा पार्टीको प्रचारप्रसार गरिरहेका छन्। ती कार्यकर्तालाई यति पनि थाहा छैन कि उनीहरुले जुन पार्टीको प्रचारप्रसार गरिरहेका छन् त्यहाँ त्यो पार्टीको उम्मेदवार हुन्छ कि हुँदैन।

आफूले प्रचारप्रसार गरिरहेको पार्टीले अर्को दलसँग गठबन्धन गरिदिएर अर्कै विपरित विचारको पार्टीलाई भोट हाल्न उर्दी जारी गर्न सक्ने सम्भावनाबारे ती कार्यकर्ता जानकार छन्। तैपनि उनीहरुले प्रचारप्रसार भने गरिरहेका छन्।

कार्यकर्ता निर्वाचनमा मतदाता आकर्षित गर्न प्रयासरत छन् तर नेताका एकथरी आफन्तहरु भने कसरी गठबन्धन गरेर अर्को दलको पनि समर्थन जुटाउने र जित्ने भन्ने ध्यानमा छन्।

अर्काथरी आफन्तहरुलाई आफ्नो मान्छेले जितोस् र भोलिका दिनमा आफूले लाभको पदमा राजनैतिक नियुक्ति पाइयोस् भन्ने मात्रै ध्यान छ। कसैलाई पनि पार्टीको सिद्धान्तको चिन्ता छैन, विकासको चिन्ता छैन, देशको चिन्ता छैन ।

जतिसुकै अप्राकृतिक र अपवित्र भए पनि गठबन्धन गर्ने, सत्तामा जाने र लाभका पदमा सकेजति आफन्तलाई व्यवस्थापन गर्ने भन्ने चिन्ता मात्र छ । नेताहरु सत्तामा पुगिसकेपछि यतिसम्म निर्लज्ज हुन थालिसके कि कुनै नियुक्तिको विषयमा जनताले प्रश्न उठाएमा त्यसको जवाफ दिन समेत जरुरी ठान्दैनन् । संवैधानिक रुपमा देशको मालिक जनता हुन् ।

मालिकले सोधेको प्रश्नको सेवाले जवाफ दिनुपर्ने हो । तर, पद र प्रतिष्ठा पाएपछि नेताहरुको निर्लज्जताले सीमा नाघ्छ । उनीहरु कुनै जवाफ वा स्पष्टीकरण दिँदैनन् । नियुक्तिका लागि योग्यता वा योगदान खोज्दैनन् ।

आन्दोलन गर्न जनता चाहिने, चुनाब जित्न कार्यकर्ता र मतदाता चाहिने तर पद र पैसा पाउने कुरामा सबै आफन्त चाहिने ? राजनीतिमा मौलाउँदै गएको यो परिवारवादबाट क्षमतावान मान्छेले के आश गर्ने? के सम्झेर चित्त बुझाउने ? राजनीतिककर्मीलाई दिएको समर्थन वा कार्यकर्ताले बगाएको रगत नेताका आफन्तका लागि हो ?

अबका दिनमा सरकारले गरेका नियुक्तिमा फरियाको नाता र दौराको फेर खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। यसका लागि तल्लो स्तरबाटै नेताको अन्धभक्त हुने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ। जतिसुकै गल्ती गरे पनि कार्यकर्ता र मतदाताले अन्ध समर्थन गरिरहने हो भने नेता सुध्रिने छैनन् र परिवारवादको पनि अन्त्य हुने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.