पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदानः नेकपा एस

डिसी नेपाल
६ वैशाख २०७९ १६:४६
28
Shares

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी) पार्टीले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने जनाएको छ।

नेकपा एसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ।

‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन्। यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन्। पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने छन्,’ नेकपा एसले घोषणापत्रमा भनेको छ।

युवा जनशक्तिलाई देशभित्रै टिकाउन र उत्पादन बृद्धिमा जोड्न तथा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न योजना पनि घोषणापत्रमा समेटिएको छ।

‘हाम्रा युवा हामीसँगै’ भन्ने आव्हानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ। युवा जनशक्तिलाई उत्साहकासाथ देशविकासमा लगाइने नेकपा एसले जनाएको छ।

घोषणापत्रमा प्रत्येक पालिकामा सिपमूलक तालिम केन्द्र स्थापना गरिने प्रतिवद्धता समेत गरिएको छ।

हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने पनि घोषणापत्रमा समेटिएको छ।

‘बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ। हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ,’ घोषणापत्रमा उल्लेख छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.