लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको होः वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन्।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको बताएका हुन्।
“अहिलेको गठबन्धन जो छ यो सत्ताका लागि होइन, व्यवस्थाका लागि गठबन्धन हो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई लोकतन्त्र र नेपालको परिवर्तनलाई बचाउनका लागि भएको हो, नेपाललाई अग्रगामी रुपान्तरण गर्नका लागि यो गठबन्धन भएको हो,” उनले भने। गठबन्धनलाई आफ्नो हैसियतअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले संसद् भङ्ग गरेर तानाशाही व्यवस्था लागू गरेको अवस्थामा नेविसङ्घ जन्मेको भन्दै लोकतन्त्रको बाटोमा नेपाललाई अगाडि बढाउन नेविसङ्घको ठूलो भूमिका रहेको बताए। उनले नेविसङ्घको केन्द्रीय कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्नेमा जोड दिए। नेविसङ्घ संस्थापक सदस्यसमेत रहेका नेता पौडेलले नेविसङ्घको लाखौँ सदस्यता छापेर स्कुल तथा गाउँसम्म लैजानुपर्ने उल्लेख गरे।
कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिक इतिहासमा नेविसङ्घको ठूलो भूमिका रहेको बताउँदै नेविसङ्घलाई आगामी दिनमा विद्यार्थीको अभिभावक सङ्गठनका रुपमा अगाडि बढाउन वर्तमान नेतृत्व लाग्नुपर्नेमा जोड दिए।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि गठबन्धन सरकार बनेको बताउँदै आवश्यकताका आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनुपर्ने उल्लेख गरे। नेविसङ्घलाई आगामी दिनमा सशक्त बनाएर अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेविसङ्घ बलियो भएमात्र कांग्रेस बलियो हुने भन्दै नेविसङ्घलाई बलियो बनाउन लाग्नुपर्ने बताए।
कांग्रेस प्रवक्ता एवम् केन्द्रीय सदस्य डा प्रकाशशरण महतले इतिहास बोकेको सङ्गठन नेविसङ्घभित्र लोकतान्त्रिक विधि, संस्कार र पद्धति हुनुपर्ने बताए। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा महतले नेकपा सरकारले दुईपटक सरकार सञ्चालन गर्न नसकेर संसद् विघटन गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिन बाध्य हुनुपरेको बताए।
कांग्रेस केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसङ्घको ठूलो भूमिका रहेको बताए। “नेविसङ्घ बलियो भए कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भए, गणतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता, प्रेस स्वतन्त्रता बलियो हुन्छ,” उनले भने।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु (समाजवादी)का अध्यक्ष सुदेश पराजुली लगायतले लोकतन्त्र र संविधानको रक्षा गर्दै विद्यार्थी आन्दोलनमा देखिएका चुनौती चिर्न विद्यार्थी सङ्गठनहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
सोही अवसरमा कलेज अफ बायोमेडिकल इन्जिनियर एन्ड एप्लाइड साइन्सेजका विद्यार्थी काउन्सिल अध्यक्ष दीपराज बुढाथोकी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई पार्टी उपसभापति गुरुङ र महामन्त्री शर्माले पार्टी प्रवेश गराए।
कार्यक्रममा नेविसङ्घको क्यालेन्डर विमोचन गर्नाका साथै नेविसङ्घ मोबाइल एप्ससमेत सार्वजनिक गरिएको थियो। उक्त एप्समार्फत नयाँ विद्यार्थीले नेविसङ्घको सदस्यता लिन मिल्नाका साथै एप्समार्फत अध्ययन गर्नसमेत सकिने अध्यक्ष शेर्पाले बताए।







डिसी नेपाल








Facebook Comment