नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो, व्यापार घाटा २८.४७ प्रतिशतले वृद्धि

डिसी नेपाल
९ वैशाख २०७९ ११:१९
44
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कूल १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.