ऋषभ पन्तले पाए रिसले आगो हुँदाको सजाय, कोचमाथि प्रतिबन्ध
काठमाडौं । आईपीएल २०२२ को गएराती भएको खेलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले खेलको क्रममा रिसले आगो हुँदाको सजाय पाएका छन् । पन्तलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आईपीएलले जरिवाना गरेको छ । उनीसँगै टोलीका फास्ट बलिङ अलराउन्डर शार्दुल ठाकुर र सहायक प्रशिक्षक प्रवीण अमरेलाई पनि जरिवाना गरिएको छ ।
दिल्लीको टोलीले शुक्रबार राजस्थान रोयल्ससँग खेलेको थियो, जसमा ऋषभ पन्तको टोली १५ रनले पराजित भएको थियो । यस खेलको अन्तिम ओभरमा नो-बलको विवाद पनि भएको थियो । यसै क्रममा ऋषभ पन्तले रिसाएर आफ्ना ब्याट्सम्यानलाई फिर्ता बोलाउने संकेत गरेका थिए । त्यसका लागि उनले आमरेलाई मैदानमा पठाएका थिए । यस विषयमा शार्दुलले दुवैलाई समर्थन गरेका थिए । यसका लागि तीनैजना आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएका छन् ।
ऋषभ पन्तलाई म्याच फीको शतप्रतिशत जरिवाना गरिएको छ । उनले जरिवाना र आरोप पनि स्वीकार गरिसकेका छन् । शार्दुल ठाकुरलाई म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । उनले पनि स्वीकार गरेका छन् । ऋषभ पन्तलाई आईपीएल आचार संहिताको लेभल-२ अन्तर्गतको धारा २.७ नियम उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । जबकि शार्दुललाई आईपीएल आचार संहिताको लेभल-२ अन्तर्गतको धारा २.८ नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो।
अम्पायरसँग झगडा गरेर आफ्ना खेलाडीलाई फिर्ता बोलाउन मैदानमा आएका दिल्ली टोलीका सहायक प्रशिक्षक प्रवीण आमरेलाई निकै कडा सजाय दिइएको छ । उनलाई म्याच फीको शतप्रतिशत जरिवाना पनि लगाइएको छ । योसँगै उनलाई अर्को एक खेलको प्रतिबन्ध पनि लागेको छ । अमरेलाई आईपीएल आचार संहिताको लेभल-२ अन्तर्गतको धारा २.२ नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको छ।
खेलमा २२३ रनको लक्ष्य पछ्याएको दिल्लीलाई अन्तिम ओभरमा जितका लागि ३६ रन आवश्यक थियो । अर्थात् जितका लागि प्रत्येक बलमा छक्का आवश्यक थियो। ओबेद म्याकोयले अन्तिम ओभर बलिङ गरे भने रोभम्यान पावेल र कुलदीप यादव क्रिजमा थिए।
रोभम्यानले म्याकोयको पहिलो ३ बलमा तीन लामो छक्का प्रहार गरे। यहाँ तेस्रो बलमा डगआउटमा बसेका ऋषभ पन्तले विरोध गर्दै यसलाई कम्मरभन्दा माथिको नो बल भनेका थिए ।, तर अम्पायरले त्यस्तो कुनै निर्णय दिएनन् । त्यसपछि अम्पायरको निर्णयबाट आक्रोशित पन्तले दुवै ब्याट्सम्यानलाई फिर्ता बोलाउने संकेत दिए । यससँगै ब्याट्सम्यानलाई फर्काउन आमरेलाई पनि मैदानमा पठाइएको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २ विकेट गुमाएर २२२ रन बनाएको थियो । ओपनर जोस बटलरले ६५ बलमा ११६ रन बनाए । देवदत्त पडिक्कलले ३५ बलमा ५४ र कप्तान सञ्जु सामसनले १९ बलमा ४६ रन बनाए । जवाफमा दिल्ली क्यापिटल्सको टोलीले ८ विकेटमा २०७ रन मात्र बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। कप्तान पन्तले २४ बलमा ४४ रन बनाए । ललित यादवले २४ बलमा ३७ रन र रोभमानले १५ बलमा ३६ रन बनाए ।







डिसी नेपाल







Facebook Comment