रुस–युक्रेन युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट ५ अर्बको वस्तु नेपाल भित्रियो

डिसी नेपाल
१२ वैशाख २०७९ १२:००
308
Shares

काठमाडौं। रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ। गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ।

रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ। युद्धका कारण युक्रेनबाट नेपालले आयात गर्ने वस्तुहरु रोकिने अनुमान गरिएको थियो । तर हालसम्म युक्रेनबाट निरन्तर वस्तुहरु नेपाल भित्रिरहेको छ।

युद्ध सुरु भएपछिको दुई महिनामा ३ अर्ब ९२ करोड ४१ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल युक्रेनबाट नेपाल भित्रिएको छ।

विभागका अनुसार चैतमा ९४ करोड १८ लाख ६२ लाख रुपैयाँ र फागुनमा २ अर्ब ९८ करोड २३ लाख १९ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल नेपालले आयात गरेको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)को अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख ५३ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सो अवधिमा नेपालबाट युक्रेनमा भने मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा १९ अर्ब २५ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.