लगातार ८ खेल हारेपछि मुम्बइका कप्तान रोहित शर्माको फ्यानका लागि भावुक सन्देश
काठमाडौं । आईपीएल इतिहासको सबैभन्दा सफल टोली मुम्बई इन्डियन्सका लागि अहिलेको सिजन दुःस्वप्नभन्दा कम रहेन । टोलीले अहिलेसम्म ८ खेल खेलेको छ र सबै खेलमा हार बेहोरेको छ । मुम्बई आईपीएल इतिहासमा सुरुवाती ८ खेल हार्ने पहिलो टोली बनेको छ ।
यो लज्जास्पद प्रदर्शनपछि टीमका कप्तान रोहित शर्माले मुम्बईका फ्यानका लागि सामाजिक सञ्जालमा भावुक पोस्ट गरेका छन् । रोहितले ट्विट गर्दै लेखेका छन्, ‘हामीले यस प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छैनौं, तर यस्तो हुन्छ । खेलकुद जगतका धेरै दिग्गजहरू यस चरणबाट आएका छन्, तर मलाई मेरो टोली र यसको वातावरण मन पर्छ। हामीप्रति विश्वास र टोलीप्रति अटल वफादारी देखाउनुहुने हाम्रा शुभचिन्तकहरूलाई पनि धन्यवाद दिन चाहन्छु।’
८ खेलबाट ० अंक जोडेको मुम्बई पुछारको १० औं स्थानमा रहेको छ । उसले अब ६ खेल खेल्न बाँकी छ । आईपीएलमा यो सिजन २ नयाँ टोली भित्रिएका छन् तर बीसीसीआईले ढाँचा परिवर्तन नगरी प्रत्येक टोलीको खेलको संख्या १४ मात्रै राखेको छ । पछिल्लो सिजनमा पनि यस्तै भएको थियो । मुम्बईले यहाँबाट सबै खेल जित्यो भने पनि उसको १२ अंक हुनेछ।
प्रत्येक खेल जितेर टोलीले आफ्नो खातामा २ अंक जोड्न सक्नेछ । सबै खेल जितेर पनि मुम्बइले प्लेअफमा जान आवश्यक १४ अंकमा पुग्न सक्दैन । तर, १२ अंकसहित सनराइजर्स हैदराबादले २०१९ मा प्लेअफ खेलेको छ। यदि मुम्बईले १२ अंकका साथ प्लेअफमा पुग्ने हो भने अन्य टोलीले निकै खराब प्रदर्शन गर्नुपर्नेछ।
मुम्बई इन्डियन्सले बाँकी ६ खेलमध्ये अन्तिम तीन खेल आफ्नो घरेलु मैदान वानखेडे स्टेडियममा खेल्नुपर्नेछ । यसको फाइदा रोहित एन्ड कम्पनीले लिन सक्छ। वानखेडे मैदानमा मुम्बई इन्डियन्सको ट्र्याक रेकर्ड २०१८ सिजनदेखि नै राम्रो रहेको छ। टोलीले यस मैदानमा १५ खेल खेलेको छ र ८ जितेको छ ।







डिसी नेपाल







Facebook Comment