एन्फा अध्यक्ष कर्माले भने-चुनाव छ, प्रशिक्षकलाई केही गर्न सक्दैन

डिसी नेपाल
१५ वैशाख २०७९ २०:२३
1.9k
Shares

काठमाडौं । आगामी ६ असारमा हुने निर्वाचनसँगै अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) निकै व्यस्त छ । खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ । केन्द्र, जिल्ला र क्लब पूर्ण रूपमा चुनाव मय भएको छ ।

यस्तो अवस्थामा एन्फामा अर्को विवाद उत्पन्न भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरू प्रति गरेको व्यवहारका कारण १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेका छन् ।

नियमित तथा अनुभवी सदस्य रोहित चन्दले खेलाडीको समस्या उनै प्रशिक्षक अब्दुल्लाहलाई राख्दा उनले टिम अभ्यासबाट निस्कन दबाब दिएपछि रोहितले होटेल छाडे ।

आफ्ना विषयमा बोलेका लिडर रोहितलाई टिमबाट निकालेपछि अन्य १० खेलाडिसमेत त्यसको भागिदार बन्दै टिम छाड्न बाध्य भए ।

तर, यो विषय बाहिर आएपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीसँग बैठक बसेका थिए । उनले सत्यतथ्य बुझेर पुनः भेट्ने बाचा गरे तर भेटेका छैनन् ।

कुराकानीकै क्रममा खेलाडीले प्रशिक्षकको अन्डरमा खेल्ने वातावरण अब नहुने र बर्खास्तसम्मको कुरा उठाएका थिए । तर, अध्यक्ष कर्माले भने इन्कार गरे ।

‘भेटमा कुरा हुँदा अध्यक्षले चुनाव छ । केही गर्न सक्दिन भन्नुभयो,’ मिडफिल्डर विशाल राईले भने । पछिल्लो समय सत्तापक्ष इतर देखिएका अब्दुल्लाह यो काण्डमा समेत सत्तापक्ष नजिक देखिएका छन् । यसै विषयमा एन्फाले छानबिन गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले विवाद समाधानका लागि छानबिन गर्ने बताए ।

पत्रकार सम्मेलनमा १० खेलाडी (रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, विमल घर्ती मगर, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, दिनेश राजवंशी) सहित एन्फा अन्तर्गतको खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र बिकेश कुथुको सहभागिता रहेको थियो ।

हाल नेपाली टिम अफगानिस्तानसँग हुने दुई मैत्रीपूर्ण खेलको लागि तयारीमा छ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ ।

यसपछि नेपाली टिमले एएफसी एसियन कप- २०२३ को छनोट खेल्नेछ । समूह ‘ए ’मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *