गण्डकीमा गठबन्धनको बन्धन : नेताहरू मिल भन्छन्, कार्यकर्ता मान्दैनन्

डिसी नेपाल
१६ वैशाख २०७९ ११:२८
248
Shares

पोखरा। नेपाली कांग्रेस गोरखाले गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धामा जाने निर्णय प्रदेश र केन्द्रीय समितिलाई बिहीबार बिहानै पठायो। कास्कीमा गठबन्धन नस्वीकार्नेहरूले प्रदेश पार्टी कार्यालयमै तोडफोड गरे । तनहुँ कांग्रेसले पनि गठबन्धन गर्न नसक्ने निष्कर्ष माथिल्लो निकायमा पठाएको छ।

गठबन्धन भित्रको दोस्राे ठूलो दल माओवादी केन्द्र, तेश्रो दल एकीकृत समाजवादी र चौंथो दल जनता समाजवादी अहिले मौन छन्। उनीहरु मिल्ने पक्षमै देखिएका छन्। कांग्रेसको आरोप छ, ‘जनमत नभएका पार्टीले अस्वभाविक माग राखेको।’ अरु दलहरु भने कांग्रेसले दम्भ देखाएको आरोप लगाउँछन् । सुरुदेखि हालसम्म पनि यही आरोप प्रत्यारोप कायम छ।

यद्यपी गठबन्धन दलहरूको बैठक टुटेको छैन। बसिरहेको छ। सबै जिल्लाको प्रगति प्रतिवेदन मागेर बिहीबार रातिदेखि प्रदेशस्तरको गठबन्धन बैठक बसिरहेको छ। उनीहरूले जिल्लाको परिस्थितिका आधारमा प्रतिवेदन बनाएर आफ्नो केन्द्रीय पार्टीमा फरवार्ड गर्छन्। जिल्ला देखि प्रदेशसम्म पनि बैठक बसिरहेको छ।

‘हामीले जिल्लाको रिपोर्ट कलेक्ट गरिरहेका छौं। सम्भवतः केहीबेरमै बस्तुस्थितिबारे केन्द्रिय समितिमा पठाउछौं,’ कांग्रेसका महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘हामीले यहाँबाट मिलाउने कुनै अधिकार छैन। विचमा समन्वयको काम मात्रै हो।’

साढे ११ पुनः बैठक बस्ने गरी प्रदेशको बैठक स्थगीत भएको छ। ‘अहिले मिल्ने जति यहीँबाट मिलाउने र नमिलेका विषय केन्द्रमा पठाउने भनेका छौं,’ माओवादी अध्यक्ष गायत्री गुरुङले भनिन्, ‘गठबन्धन हुन्छ भन्नेमा हामी विस्वस्त छौं। गठबन्धन असल रुपमा गयो भने मात्रै रिजल्ट निस्किन्छ।’

जसपाका प्रदेश उपाध्यक्ष किरण थापाले आफुहरु गठबन्धनमा नहरने निर्णय भएको बताए। ‘एकल प्रतिस्पर्धा गर्ने निर्णय नै भयो। स्थानीय कमिटीले गरेको सहमति कार्यान्वयन हुन्छ। अन्त हामी जोड गर्दैनौं,’ उनले भने, ‘मैले गठबन्धनको बैठकमा त्यही जानकारी दिएर निस्केको हो।’ प्रदेश नेताहरुका अनुसार अव गण्डकीमा तल्लो तहबाट गठबन्धन नहुने नै निधो भएको छ । तर केन्द्रले भने गठबन्धन नतोड्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.