स्थानीय तह निर्वाचन : पाँचथरमा गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा

डिसी नेपाल
२२ वैशाख २०७९ १०:१३
124
Shares

फिदिम। स्थानीय तह निर्वाचनमा पाँचथर जिल्लामा ५ दलीय गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ।

२०७४ को निर्वाचनमा एमालेले ३ पालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत, २ पालिकामा उपाध्यक्षसहित बहुमत पाएको थियो भने बाँकी ३ पालिकामा कांग्रेसको बहुमत थियो। अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिएको छ।

हिलिहाङ, याङबरक, कुम्भायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा एमालेको एकल बहुमत थियो। अहिलेको निर्वाचनमा पनि यी पालिकामा एमाले बलियो देखिएको छ।

कांग्रेसका तर्फबाट फाल्गुनन्दका प्रमुख अमरकुमार नेम्बाङको निधनपछि भएको उपनिर्वाचनमा एमालेका वीरबहादुर कुरुङमाङ विजयी बने। कांग्रेसका इमान्दार नेता नेम्बाङको निधनसँगै फाल्गुनन्द कांग्रेसको पोल्टोबाट फुत्किएको छ। अब पनि फुत्कनेमा एमाले विश्वस्त रहेको देखिन्छ । एमालेका एक नेताका अनुसार फालेलुङमा कांग्रेसका अवस्था सहज देखिन्छ।

‘५ दलीय गठबन्धन भएकोले उनीहरुको टिम पनि निक्कै आशावादी छ, तर गठबन्धनलाई नरुचाउने मतदाता एमालेपछि आकर्षित छन् ।’ एमाले नेता तुलशी थापाले भने ।

फिदिममा भने दुई पक्षबीच तीब्र प्रतिस्पर्धा छ। एमालेका यु्वा नेता पृथ्वी लावती राप्रपा, राप्रपा नेपालको साथमा निर्वाचनमा होमिएका छन् भने नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले ५ दलीय गठबन्धनबाट मेयरमा उमेद्वार छन्।

३० हजार मतदाता रहेको फिदिम नगरमा गठबन्धनले माओवादी केन्द्रबाट राधाकृष्ण न्यौपाने उपमेयरमा उमेद्वार बनेका छन् । एमालेको टिमबाट राप्रपाका जगत थापा मगर उपमेयरमा उठेका छन्।

समग्र नगरको अवस्था पछिल्लो समय तीब्र प्रतिस्पर्धामा रहेको कांग्रेसका नेताहरु पनि बताउन थालेका छन्। कांग्रेसमा संस्थापन र संस्थापन इतर टिमबीच मनमुटाव यथावत छ।

कोइराला खेमाबाट मेयरमा उमेदर बनेका काफ्लेलाई संस्थापन पक्षबाट राम्रो साथ नरहेको चर्चा हुन थालेको छ। ‘संस्थापन पक्षका केही नेताहरु औपचारिकताका लागिमात्र निर्वाचनमा क्रृयाशील हुने गरेका छन् ’ एक कांग्रेस कार्यकर्ता असन्तुष्टि व्यक्त गर्छन्।

१४ वडा रहेको फिदिम नगरमा १, २, ३, ८, ११ र १२ एमाले जित्ने विश्वासमा छ भने वडा ४ र १० राप्रपाको जित दावी छ । कांग्रेसले वडा २, ३, ४ र ११ जित्ने दावी छ।

माओवादी केन्द्रको तर्फबाट गठबन्धनमा परेका वडा ८, १२, १३ र १४ उसले पनि जित्ने दावी गर्दै आएको छ । फिदिममा २०७४ को निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याएको थियो । अहिले गठबन्धनका कारण कांग्रेसको साख खस्किएको विश्लेशण गर्न थालिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.