भरतपुरमा सत्ता गठबन्धनको चुनावी आमसभा शेखर र गगनको बहिष्कार!
काठमाडौं। आज सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा गर्ने चुनावी आमसभामा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन्।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार कोइराला आफ्नै गृह जिल्ला मोरङमै व्यस्त भएका कारण भरतपुर नजाने बताएका हुन् । ‘डा. साव आफ्नै जिल्ला मोरङको चुनावी सभामा व्यस्त हुनुहुन्छ। भरतपुरको सभामा जाने कुरा ढिलो जानकारी भयो त्यसकारण जिल्ला कै पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले उहाँ जान नसक्नु भएको हो,’ थपलियाले भने।
गठबन्धनको विपक्षमा रहेका कोइराला भरतपुरमा नजानुले कुनै अर्थ बोकेको छ? भन्ने डिसी नेपालको प्रश्नमा थपलियाले भने, ‘त्यस्तो कुनै अर्थ छैन। पार्टीले निर्णय गरेपछि सबैले मान्नुपर्छ। अब निर्णय भइसकेपछि डा.साव पनि सो निर्णयलाई कार्यान्वयन गर्ने पक्षमा नै हुनुहुन्छ। त्यसकारण जिल्ला मै व्यस्त हुनुभएकाले मात्र जान नसक्नु भएको हो।’
त्यस्तै महामन्त्री गगन थापा पनि भरतपुर भन्दा अन्य ठाउँहरुको चुनावी सभालाई सम्वोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले भरतपुरको सभामा जान नसक्ने उनी निकट एक नेताले बताए।
तर भरतपुरको सभामा कोइराला र थापा पनि जाने भनेर केही दिनदेखि प्रचार भइरहेको थियो। भरतपुरको सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधकुमार नेपाल लगायतका नेताहरुले सम्वोधन गर्ने जनाइएको छ।
चितवनमा कोइराला पक्षधरको बहुमत रहेको छ। डा. कोइराला स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा थिए। तर केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाएपछि कोइराला पक्ष रुष्ट छ। त्यहाँ कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
उनलाई उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाण, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले आग्रह गर्दासमेत पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्दै आएका छन्।







डिसी नेपाल








Facebook Comment