हेटौंडा उपमहानगर : एमालेलाई बिरासत जाेगाउने चुनाैती, गठबन्धनलाई जित्नै पर्ने दबाव, दुवैलाई राप्रपाको टक्कर
हेटौंडा। स्थानीय तहको निर्वाचन नजिकिएसँगै हेटौंडामा चुनावी सरगमी बढ्दो छ। बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने चर्चा चलिरहेको छ।
नेकपा एमाले पहिला झैं आफ्नो विजयी झण्डा फहराउने दाउमा रहेको छ भने पाँच दलीय सत्ता गठबन्धन पनि आफ्नो जित निकाल्न प्रयासरत रहेको छ। एमालेबाट मेयरको लागि अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मिना कुमारी लामाले उम्मेदवारी दिएकी छिन्।
यसअघि २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको थियो। तर त्यसबेला पनि हेटौंडामा एमालेले जित निकालेको थियो। त्यतिबेला एमालेबाट उपमेयरमा विजयी भएकी मिना कुमारी लामा नै अहिले गठबन्धनबाट मेयरको उम्मेदवार छिन्।
बि.सं. २०४९ र २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेकै डोरमणि पौडेल मेयर र हरिबहादुर महत उपमेयर भएका थिए। अघिल्लो पटक भएको गठबन्धनलाई पनि पराजित गरेकाले यसपटक पनि पराजित गर्नेमा ढुक्क रहेको एमालेको उम्मेदवार पौडेल बताउँछन्। यसपटक एमालेलाई राप्रपा नेपालले पनि साथ दिएकाले थप सहज भएको उनी बताउँछन्।
यता गठबन्धनलाई भने मत बदर हुने डर रहेको छ। ‘हामीले मतदाताहरुलाई अपिल गर्ने क्रममा मतदानको तरिका पनि सिकाएका छौं,’ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार बनेका राजेश बानियाँले भने।
बि.सं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार ६१५ मतले विजयी हुँदा ७ हजार भन्दा बढी मत बदर भएको थियो। एमाले विभाजन र कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा गठबन्धन बलियो देखिन्छ। यद्यपी असन्तुष्ट मत र मतपत्रमा हुन सक्ने अस्पष्टताले गठबन्धनलाई धक्का पुग्ने देखिन्छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका दिपकबहादुर सिंहको आगमनले दुई तर्फी भिडन्तमा नयाँ मोड थपिएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हेटौंडामा बलियो दाबेदारी पेस गरेको छ।
मकवानपुरमा प्रभावशाली नेता मानिने कमल थापा राप्रपा अध्यक्षमा पराजित भएपछि अलग पार्टी स्थापना गरेका उनको दल राप्रपा नेपालले मकवानपुरको कुनै पनि स्थानीय तहमा उम्मेदवारी दिएन।
राप्रपाबाट उम्मेदावारी दिएका दिपक सिंह आफ्नो उम्मेदवारी विशुद्ध जनताको सेवाका लागि भएको बताउँछन्। ‘जनताको चाहना भएकै कारण मैले उम्मेदवारी दिएको हो। मैले जितेँ भने जनताकै सेवा गर्ने हो । भ्रष्टाचारमुक्त हेटौंडा बनाउने हो’ उनले भने, ‘धेरै ठूला योजनाहरु मसँग छैनन्, ‘सामान्य कामहरु गरे मात्रै पनि हेटौंडाका जनताले महसुस गर्नेछन् । अहिले ठूलो कुरा गरेर हुन्न । जनताले विकास चाहेका छन् । म त्यो पूरा गर्न सक्छु।’
एमाले र गठबन्धनको चर्चा चलिरहेकै बेला दुवै तर्फको असन्तुष्ट मत उनले तान्ने चर्चा पनि चल्न थालेको छ। त्यसमध्ये पनि गठबन्धन हुँदा उम्मेदवार बन्न नपाएको वा विभिन्न कारणबश रहेको असन्तुष्टिको फाइदा उनले उठाउने अड्कलबाजी गरिन थालेको छ।
हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरेको कांग्रेसभित्र असन्तुष्ट समूहको ठूलो जमात छ । कांग्रेसको आन्तरिक विवादकै कारण पनि गठबन्धनको मत प्रभावित हुन सक्ने आंकलन गरिएको छ। यही असन्तुष्ट मत तान्ने दाउमा सिंह रहेका छन्।
एमालेका अनन्त पौडेललाई टिकट दिनहुँदैनथ्यो भन्ने पक्षको मत पनि राप्रपाको नजरमा छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको जम्मा मतदाता ८३ हजार ५ सय ९७ रहेका थिए भने अहिले मतदाता संख्या बढेर १ लाख ४ हजार ४ सय ७३ पुगेको छ।







डिसी नेपाल








Facebook Comment