समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यकः महामन्त्री थापा
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन्।नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने खाँचो औँल्याएका छन्।
प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताए ।
उनले भने, “अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ । स्रोत साधनको दुरुपयोग हुन नदिन तथा सुशासन, पारदर्शिता अपनाउन मूलभूत ११ वटा मापदण्डका आधारमा स्थानीय संयन्त्र परिचालनको अवधारणा अघि सारिएको छ । यसले अबको पाँच वर्ष के गर्ने भन्ने प्रष्ट खाका तयार गरेको छ ।”
महामन्त्री थापाले संविधानको मौलिक हकमार्फत जनतामा गरेको वाचाको पूर्ण कार्यान्वयन गर्न कांग्रेसले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताए।







डिसी नेपाल








Facebook Comment