आइपिएलसँग क्रिस गेलको आक्रोश
काठमाडौं । क्रिकेट जगतमा युनिभर्सल बोस भनिने वेस्ट इन्डिजका स्टार खेलाडी क्रिस गेल यसपटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा खेलिरहेका छैनन् । वास्तवमा, उनले यस सिजनबाट आफ्नो नाम फिर्ता लिएका थिए र उनले मेगा लिलामीमा भाग लिएनन्।
क्रिस गेलले आईपीएल खेल्न नपाउँदा फ्यानहरु निकै निराश भएका छन् । यसबारे धेरै किसिमको अड्कलबाजी पनि गरिएको थियो तर अहिले क्रिस गेलले नै यो रहस्यबाट पर्दा हटाएका छन् । क्रिस गेलले चकित पार्ने खुलासा गरेका छन् । गेलले पछिल्ला केही सिजनमा आफूले सम्मान नपाएको बताएका छन् । तर, उनले अर्को सिजन पनि खेल्ने इच्छा व्यक्त गरेका छन् ।
क्रिस गेलले हालसम्म आईपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) पछि पञ्जाब किंग्स (पीबीकेएस) बाट क्रिकेट खेलेका छन्। २०१९ को सिजन उनको लागि उत्कृष्ट रह्यो। उनी सर्वाधिक स्कोरकर्ताको छैटौं नम्बरमा थिए । तर, २०२० र २०२१ मा पञ्जाब टोलीबाट खेल्दा उनलाई प्लेइङ–११ मा स्थान बनाउन पनि गाह्रो भयो । गेलले गत सिजनमा १० खेल खेलेका थिए जसमा उनले १२५.३२ को स्ट्राइक रेटमा १९३ रन बनाएका थिए भने २०२० मा उनले ७ म्याच मात्र खेलेर २८८ रन बनाएका थिए।
क्रिस गेलले आईपीएलमा १४२ खेल खेलेका छन् जसमा उनले ४ हजार ९६५ रन बनाएका छन् । उनले सन् २०१३ मा पुणे वारियर्स विरुद्ध आईपीएलमा एक इनिङ्समा उच्चतम स्कोर (१७५ रन) को कीर्तिमान पनि बनाएका थिए।
क्रिस गेलले इङ्लिस मिडिया मिररसँग भने, ‘आईपीएलमा पछिल्ला केही वर्षमा मसँग राम्रो व्यवहार नभएको महसुस भएको छ । त्यसपछि मैले यो खेल र आईपीएलमा यति धेरै गरेपछि पनि पाउनु पर्ने सम्मान नपाएपछि मेगा अक्सनमा मेरो नाम समावेश गर्दिनँ भन्ने लाग्यो । मैले छोड्नुको एउटै कारण थियो । क्रिकेटपछिको जीवन पनि छ र म त्यसलाई मिलाउन खोजिरहेको छु ।’
आईपीएल खेल्नेबारे गेलले भने, ‘म अर्को वर्ष फर्कनेछु । उनीहरूलाई म चाहिन्छ। आईपीएलमा मैले तीन टोली केकेआर, आरसीबी र पञ्जाबबाट क्रिकेट खेलेको छु। म आरसीबी र पञ्जाबमध्ये कुनै एउटा टोलीमा बसेर उपाधि जित्न चाहन्छु। मैले आरसीबीमा राम्रो गरेको छु र पञ्जाब पनि राम्रो छ।’







डिसी नेपाल







Facebook Comment