छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

डिसी नेपाल
२६ वैशाख २०७९ ९:४९
184
Shares

दार्चुला। कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो।

साे क्षेत्रमा नेपाली भूमिबाट जाने  बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ।

७ जना नेपाल प्रहरी र ८ जना निर्वाचन कर्मचारी हेलिकोप्टरमार्फत त्यस क्षेत्र गएका छन्। हिउँदमा सदरमुकाम झरेको सीमा प्रहरी चौकी तिंकरका सुरक्षाकर्मी बन्दोबस्तीमा सामानसहित हेलिकोप्टरमार्फत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोति महिला संघ केन्द्रमा २३१ मतदाता छन्। सो क्षेत्रका बासिन्दा वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन्। जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.