बाबुरामले ‘चोरको खुट्टा काट’ भन्दा फुत्त खुट्टा ताने, १५ हजार जरिवाना हुन सक्ने

डिसी नेपाल
३० वैशाख २०७९ १२:०८
6.7k
Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो मतपत्र सार्वजनिक गरेका छन् । गोरखाको पालुङटार नगरपालिकाको वडा नं. १ मा अन्नपूर्ण मावि बुथमा मतदान गरेका भट्टराईले छाता चिन्हमा छाप लगाएको मतपत्रको फोटो सार्वजनिक गरेका छन् ।

कानुनअनुसार यसरी मतपत्र सार्वजनिक गर्न पाइँदैन । यसरी मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यदि यस्तो मतपत्र सम्बन्धित व्यत्तिःले मतपेटिकामा खसाउन बाँकी भए त्यस्तो मतलाई मतदान अधिकृतले छुट्टै राख्ने र त्यो मत गणना नहुने समेत कानुनी व्यवस्था छ ।

निर्वाचन कसूर तथा सजाय ऐनको दफा ९ (१) मा लेखिएको छ ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यस भन्दा बाहिर गइ मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।

यसैको उपदफा २ मा भनिएको छ ‘उपदफा (१) विपरितको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’ यो कानुनका आधारमा भट्टराईलाई पनि १५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । तर, उनले मतपत्र मतपेटिकामा खसाइसकेको हुनाले त्यो मत गणना भने हुनेछ ।

भट्टराईले मत संकेत गरिसकेको मतपत्र सार्वजनिक गरेको विषयमा प्रश्न उठेपछि उनले ‘चोरको खुट्टा काट भन्दा फुत्त खुट्टा तान्ने’ शैलीमा आफूले जानाजान मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको आशय झल्किने गरी अभिव्यक्ति दिएका छन् । मतपत्र सार्वजनिक भएको केही घण्टामै उनले सार्वजनिक रुपमै यसरी मतपत्र सार्वजनिक गर्न पाइने पक्षमा वकालत गरेका छन् ।

आफैंले बिहान ८ः२५ मा मतदान गरेको भनेका भट्टराईले मतदान गरेको करिब ३ घण्टामा ११ बजेर १० मिनेटमा ट्वीट गर्दै लेखेका छन् ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत  खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.