संघीय संसद्को वर्षे अधिवेशन आजदेखि

डिसी नेपाल
३ जेठ २०७९ ६:३७
36
Shares

काठमाडौं। सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेकी थिइन्। मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो।

बैठक मंगलबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ। प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा साेमबार मात्रै सभामुख अग्निप्रसाद सापकोटाले जानकारी लिएका थिए।

यस्तै, सभामुख सापकोटाले मंगलबार दिउँसो २ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन सकेको थिएन। यद्यपि, अमेरिकी सहयोग परियोजना (एमसिसी)लगायतका केही विषयलाई भने प्रतिनिधिसभाले निष्कर्षमा पुर्याएको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूची लगायतका विषयमा निर्णय गर्नेछ। एमालेले बैठकमा के गर्ला भन्ने चासो पनि उत्तिकै छ । त्यसो त सङ्घीय संसद् सचिवालयका तर्फबाट केही सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ। सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नेछन्। सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नेछन्।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.