काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

डिसी नेपाल
५ जेठ २०७९ ९:४७
664
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन्। त्यसमध्ये दुई वटा त महानगर छन्।

तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन। मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बन्यो।

जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो। कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो।

यस पटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए। २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए। बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ। महाङ्‍काल र बाग्मती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ। अध्यक्ष भने कांग्रेसले जितेको छ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ। माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिकामा माओवादीबाट प्रमुख हुने छैन। काठमाडौंको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन।

जबकि, यस पटक माओवादीले अघिल्लो पटक भन्दा बढी स्थानीय तहमा जित्‍ने सम्भावना छ। माओवादीले १०६ स्थानीय तहमा अघिल्लो पटक निर्वाचन जितेको थियो। यस पटक भने कम्तीमा ११५ स्थानीय तह जित्‍ने देखिएको छ। तर, काठमाडौं उपत्यकाको २० वटामध्ये एउटा पनि स्थानीय तहको नेतृत्व माओवादीले गुमाउने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.