सबै महानगरको मेयरमा एमाले पछि, उपमेयरमा भने सबै महानगरमा अग्रता
काठमाडौं। देशका ६ महानगरपालिकामध्ये सबै महानगरपालिकाको मेयर पदमा नेकपा एमाले पछि छ । तर, महानगरपालिकाको उपमेयरमा भने दुई तिहाइमा अग्रता लिएको छ ।
राष्ट्रिय राजधानी काठमाडौं महानगरमा एमाले उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा १० हजार मतले पछि परेका छन् । तर, उपमेयरमा भने एमालेकी सुनिता डंगोलको १३ हजारभन्दा धेरै मतको अग्रता छ ।
पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापा एकीकृत समाजवादीका धनराज आचार्यसँग २ हजारभन्दा धेरै मतले पछि परेका छन् । तर, यहाँ उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटसँग झिनो अग्रता लिएकी छिन् । अग्रता भने केवल १४ मतको मात्रै छ ।
ललितपुर महानगरको मेयरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भारी अन्तरले पछि परेका छन् । यहाँ कांग्रेसका चिरीबाबु महर्जनले दोब्बरभन्दा धेरैको अग्रता लिएका छन् । तर, उपमेयरमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले करिब १९ सयको अग्रता लिइरहेकी छिन् ।
विराटनगर महानगरपालिकाको मेयरमा एमालेका सागरकुमार थापा कांग्रेसका नागेश कोइरालासँग करिब ५ हजार मतले पछि परेका छन् । तर, यहाँ पनि उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले करिब ७ हजार मतले अग्रता लिइरहेकी छिन् ।
देशका अन्य २ महानगर भरतपुर र वीरगञ्जमा भने एमालेका उम्मेदवार नै छैनन् । भरतपुरमा एमालेले उपमेयरमा राप्रपालाई समर्थन गरेको छ भने वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गरेको छ । यद्यपि दुवै महानगरमा एमाले समर्थित उपमेयर पछि परेका छन् ।







डिसी नेपाल







Facebook Comment