आइपीएल : पञ्जावले हैदरावादलाई हरायो
काठमाडौं। अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव किङ्सले छैटौं स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ। लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेेकाे हाे।
पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। यस्तै, शिखर धवनले ३९ रन बनाउँदा जोनी बेरेस्टोले २३ सँगै साहरुख खान र जितेश शर्माले समान १९ रन बनाए।
हैदराबादका फजालहक फारुकीले दुई विकेट लिए। यस्तै, वासिङ्टन सुन्दर, जगदिश सुचिथ र उम्रन मलिकले समान एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो।
हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाएका थिए। यस्तै, रोमारियो सेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र आइदेन मार्करमले २० रन बनाएका थिए। पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले समान तीन विकेट लिँदा कगिसो रबाडाले एक विकेट लिएका थिए।
जितसँगै १४ खेलबाट १४ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लियो। यस्तै, समान खेलबाट १२ अंक जोडेको हैदरबादले भने आठौं स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ।







डिसी नेपाल







Facebook Comment