‘कोर’ एरियामा पनि बालेनको लिड बढ्दो, स्थापित–सिर्जनाले आश गरेको भोट सुमन सायमीलाई
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जारी मतगणनामा ठूलो अन्तरले अग्रता लिइरहेका छन् । उनको मत ४६ हजारभन्दा धेरै भइसकेको छ । दिउँसो साढे २ बजेसम्मको गणनामा बालेनको भोट ४६ हजार ७४७ छ । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग १८ हजार ६६६ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो अपडेट अनुसार कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले २७ हजार ९९७ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।
कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशामा भने सुमन सायमीले पानी फेरिदिएका छन् । यहाँको मत गणना भइरहँदा पनि बालेनले पहिले नै लिएको अग्रता घटेको छैन । जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो देखिएको छैन । यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ ।
अहिलेसम्म सुमन सायमीले पनि ६ हजार ३०९ मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ । उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २४ प्रतिशत, डल्लुमा १४ प्रतिशत, भिमसेनस्थानमा १३ प्रतिशत, ज्याबहालमा १० प्रतिशत, टेबहालमा १६ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र हुन् ।







डिसी नेपाल







Facebook Comment