पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो
पोखरा। यसपालि एमाले एकजुट छैनन्। कारण एउटा मात्रै छैन। एमाले कास्कीमा अहिले चरम गुटबन्दी छ। त्यसको सिकार एउटै चुनावमा दुई उम्मेद्वार भए।
मनोनयन अघि दीपक पौडेललाई टिकट दिएपछि एमालेका खगराज अधिकारी मार्काले उनको सुन चोरीको भिडियो छताछुल्ल बनाए। त्यही भिडियोले केन्द्रीय नेतृत्वले पौडेलको टिकट खोसिदियो र खगराज समूहकै भनिएका कृष्ण थापालाई टिकट थमायो । पौडेल पृथ्वीसुब्बा गुरुङ गुटको मानिन्छन्।
मनोनयन अघिसम्म माहोल राम्रै बनाएका थापालाई पार्टी भित्रैबाट झेल हुन थाल्यो। भित्रभित्र पार्टीकै नेताहरु फरक कित्तामा उभिएको आरोप प्रत्यारोप छ। उनलाई पिएस गुरुङ मार्काका नेताहरुले असहयोग गरेको बताइन्छ । त्यसो त, अहिले आइरहेका वडा हेर्दा पनि केही हदसम्म पुष्टी हुन्छ। टिकट खोसिएपछि पौडेल पनि चुप बसे, थापाको प्रचारमा हिडेनन्।
पोखरामा एमालेले २०७४ मा जितेका अधिकांश वडा गुमाइसकेको छ। ११ वडा मात्रै जितेको कांग्रेसले २० वडा पुर्यायो। एमाले २२ बाट झरेर ९ वडामा सीमित छ । केही वडाको गन्न अझै बाँकी छ। रोचक कुरा के छ भने, एमालेले आफ्नो पकड (किल्ला) दावी गरेका वडाहरु धमाधम गुमाइरहेको छ। एमालेबाट मेयरकै उम्मेद्वार कृष्ण थापाको वडामा अध्यक्ष कांग्रेसले जितेको छ।
अघिल्लो चुनावमा २ सय ६५ मतान्तरले वडाध्यक्ष सहित प्यानलै चुनाव जितेको एमालेले अहिले १ सय ४८ मतान्तरले अध्यक्ष चुनाव हार्यो। उम्मेद्वार मात्रै होइन, उम्मेद्वारी खोसिएका मेयरको वडामा पनि चुनाव एमालेले हार्याे।
अघिल्लो पटक ४ सय ६३ मतान्तरले प्यानल चुनाव जितेकोमा यसपालि ५१ मतान्तले वडाध्यक्ष कांग्रेसले जित्यो। अर्को महत्वपूर्ण वडा हो ३१। पुर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य खगराज अधिकारीको वडामा यसपालि एमाले पराजीत भयो।
यसअघि ५ सय मतान्तरले एमाले उम्मेद्वार विजयी भएका यो वडामा अहिले १ सय ६१ मतान्तरले कांग्रेस विजयी भयो । यि वडाहरुको रिजल्टबाट थाहा हुन्छ, कि एमालेभित्र चरम अन्तरविरोधको अवस्था छ।
मेयरको टिकट खोसिएका पौडेलको वडाबाट मेयरका उम्मेद्वार कृष्ण थापाले पनि कम मत पाएका छन् । थापाले २ हजार २ सय ६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३ सय ५४ मत पाए ।
उपमेयरमा भने एमालेकै उम्मे्दवारले लिड गरिन् । एमालेकी मञ्जुदेवी गुरूङले २ हजार ६ सय मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले २ हजार ५ सय ५ मत पाएकी छिन्।







डिसी नेपाल







Facebook Comment