अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदै

डिसी नेपाल
१३ जेठ २०७९ ६:२९
1.5k
Shares

काठमाडौं। अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी स्थल सेनाले एशिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक हो।

नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति अर्थात् चारतारे जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ।

जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्।

अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। अमेरिकी सैनिक अधिकारीहरु माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रित छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास पनि दुई सैनिक अधिकृतहरु बीच हुँदै आएका छन्।

यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतहरुले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयहरुमा हरेक वर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन्। जर्नेल फ्लिनको स्वागतसँगै नेपाली सेनाका प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी पनि चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.