लेतेनजिकै कोवाङमा सेनाको हेलिकप्टर अवतरण, भिडियोमा हेर्नुहोस् यस्तो छ त्यहाँको मौसम
काठमाडौं। हराइरहेको तारा एयरको विमानको खोजी कार्य जारी छ । विमानका पाइलटको मोवाइलमा घण्टी बजेपछि त्यही मोवाइलको जिपिएस लोकेसनको आधारमा विमानको खोजी अगाडि बढाइएको छ । फोनको लोकेसन ट्रयाक गर्दा लेते आसपास देखिएको छ ।
खोजी अभियानका क्रममा नेपाली सेनाको एउटा हेलिकप्टर लेतेनजिकै कोवाङमा अवतरण गरेको छ । त्यहाँको मौसम बादल र कुहिरो लागेको भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ । पाइलटको फोनको लोकेसन लेते आसपास देखाएपछि यसैका आधारमा खोजी पनि त्यही क्षेत्रमा केन्द्रित गरिएको छ । उनका अनुसार क्याप्टेनको मोवाइलको लोकेसन लेते देखाएको छ ।
जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल यकिन हुन सकेको छैन । विमान दुर्घटना नै भएको भए त्यहाँबाट धुवाँ निस्किने भए पनि सेतो कुहिरो बाक्लो गरी लागेका कारण धुवाँ देख्न कठिनाइ हुने अवस्था छ ।
लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।







डिसी नेपाल








Facebook Comment