काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत, माओवादी पनि भित्रियो

डिसी नेपाल
२४ जेठ २०७९ २०:५१
1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका छन्। निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गरेका थिए ।

नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् । नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन् । उनीहरुको प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन् ।

निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.