अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति भोलि नेपाल आउँदै

डिसी नेपाल
२५ जेठ २०७९ ११:३०
216
Shares

काठमाडौं। अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लीन नेपाल भ्रमणमा आउने भएका छन्। उनी चार दिने सद्भावना भ्रमणमा बिहीबार नेपाल आइपुग्ने भएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले फ्लीन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्ने बताए। ‘उहाँ (फ्लीन) जेठ २६–२९ सम्म चार दिने भ्रमणमा बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ,’ सहायक रथी सिलवालले डिसी नेपालसँग भने, ‘२७ गते प्रधानसेनापतिज्यूसँग भेटवार्ता गर्ने तय भएको छ। अन्य कार्यक्रम स्वीकृत भएपछि जानकारी गराउँछौं।’

अमेरिकी स्थल सेनाले एशिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक हो। अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति अर्थात् चारतारे जर्नेल फ्लीनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।

जनरल फ्लीन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एकबर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ।

अमेरिकी सैनिक अधिकारीहरु माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रीत छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास पनि दुई सैनिक अधिकृतहरु बीच हुँदै आएका छन्।

यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतहरुले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयहरुमा हरेक बर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.