छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, तिङ्करमा एनटिसेट जडान

डिसी नेपाल
२५ जेठ २०७९ १३:५८
104
Shares

दार्चुला।  व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजीसहितको टेलिफोन टावर जडान सुरु गरिएको छ। चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ। नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो ।

सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए। यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो। छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ। छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ।

सामरिक महत्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गरेका छन्। “स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो”, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, “अहिले कार्यालय प्रमुख आएर सञ्चालन गर्नुभएको छ, छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदैछ, सोलार व्याट्री अपुग भएका कारण केही समय लाग्ने छ ।”

तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ। अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए। यसअघि यहाँका नागरिकले फोन सेवाबाट बञ्चित हुनुपरेको थियो । छाङ्गरुमा फोन लागे पनि तिङ्करमा फोन लाग्दैन थियो। टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङ्गरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ। ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ। सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.