गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने
पोखरा। गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ। आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ ।
२५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो। हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ ।
चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५ सय सीसी क्षमताका गाडीहरुले छुट्टै कर तिर्नुपर्ने भएको छ । उनीहरुले वार्षिक ६५ हजार तिर्नुपर्ने सरकारले जनाएको छ।
एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजारले बढेको छ। चालू वर्षसम्म यि सवारीकाे कर २२ हजार मात्रै थियो। एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ। अहिले यि गाडीले २० हजार कर बुझाइरहेका छन्।
दुइपांग्रे सवारीमा पनि सीसी छुट्याएर कर लिने भएको छ । १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० भन्दामाथि गरी ६ वटा प्रकार तय गरिएको छ । हाल ४ तहमा मात्रै वर्गीकरण गरिएको छ।
अब १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको छ।
आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान पनि ल्याएको छ। टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परले अहिलेकै कर तिरे पुग्छ । अहिले यि सवारीको कर ४० हजार छ ।
कृषि क्षेत्रमा प्रयोग हुने, ट्रयाक्टर, पावरटेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ। मिनिट्रक/मिनिबसको कर २७ हजार कायम गरिएको छ । ट्रक र बसले भने ३५ हजार तिर्नुपर्छ।
हालसम्म कर नलिइएको विद्युतीय गाडीमा पनि अब कर लाग्ने भएको छ। मोटरसाइकल/स्कुटरले १ हजारदेखि २ हजारसम्म कर तिर्नुपर्छ । जीप, कार भ्यान, माइक्रोबस र बसले १० हजारदेखि २० हजारसम्म कर बुझाउनुपर्ने भएको छ।







डिसी नेपाल







Facebook Comment