नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्रको बिक्री गर्दै

डिसी नेपाल
१४ असार २०७९ १२:१०
96
Shares

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले ३० लाख इकाइ ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले दीर्घकालीन स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो। पाँच वर्षअवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन्।

जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाइका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन्। एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन छिटोमा २६ असारमा बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा ४ साउनसम्म खुला रहनेछ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ’ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.