कोइराला खेमा देउवालाई किन तर्साउन चाहन्छ ?
काठमाडौं। यतिबेला नेपाली कांग्रेसको आन्तारिक विवाद सतहमा आएको छ। सभापति शेरबहादुर देउवाको कार्यशैलीमा असहमत जनाउँदै डा.शेखर कोइराला समूहले आज छुट्टै भेला राखेको छ।
सभापति देउवा विधिविधान विपरित चलेको एकलौटी ढंगबाट पार्टी संचालन गरेको कोइराला समूहका नेताहरुको आरोप रहेको छ। कोइराला समूहले आजको भेला बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा राखेको छ।
कोइराला समूह सभापति देउवाले विधानको कार्यान्वयन नगरेको भ्रातृसंस्थाको नेतृत्वमा छलफल नगरि एकलौटी निर्णय गरेको भन्दै लामो समयदेखि असन्तुष्ट जनाउँदै आएको छ।
कांग्रेसको प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्ष्यमा विद्वान गुरुङलाई अध्यक्ष्यमा मनोनित गर्दा पार्टीमा छलफल नभएको भन्दै कोइराला समूहका नेताहरु असन्तुष्ट बनेका थिए।
त्यतिमात्र होइन केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनयन गरेका छन्। त्यसरी मनोनयन गर्दा कोइराला समूहका पदाधिकारीहरूसमेत कुनै सल्लाह नगरी एकलौटी निर्णय गरेको कोइराला समूहको निष्कर्ष छ।
देउवाले यसरी एकलौटी निर्णय गरेपछि असन्तुष्ट बनेको कोइराला समूहका नेताहरु अब पनि पार्टीभित्र अन्याय नसहने भन्दै संघर्षमा उत्रिने निष्कर्षमा पुगेका थिए।
र, सभापतिले केन्द्रीय सदस्य मनोनित गर्दा पनि आफ्नो समूहलाई उपेक्षा गरिएको र आफ्नालाई मात्र मनोनित गरेको कोइराला समूहको नेताहरुको बुझाइ रहेको छ।
देउवाले १४ औँ महाधिवेशमा सभापतिका उम्मेदवार बनेका बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा.प्रकाशशरण महत, प्रदीप पौडेललाई मनोनित गरेको तर कोइराला समूहबाट उपसभापति पदका उम्मेदवार बनेका चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजाल र एक भोटले चुनाव हारेका केन्द्रीय सदस्यका उम्मेदवार हृदयराम थानी र प्रदेश एकको सभापतिमा २ मतले पराजित भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलाई पनि केन्द्रीय समितिमा मनोनयन नगरेकाले कोइराला समूह आक्रोशित भएका छन्।
र, आजको भेला पनि सभापति देउवाले विधि र विधानलाई पालना नगरेकाले र १४ औँ महाधिवेशन पछि पार्टीको आन्तरिक राजनीति र सम्रग राजनीतिमा केन्द्रित भएर बस्न लागेको कोइराला निकट एक नेताले बताए।
‘हाम्रो सभापतिज्यूले १४ औँ महाधिवेशन पछि पार्टीको गुटबन्दी बन्द गर्छु।पार्टीमा समूहिक निर्णय गर्छु भनेर प्रतिबद्धता गर्नु भएको थियो। तर उहाँ अझै पनि १३ औँ महाधिवेशनको सभापति जस्तो नै हुनुहुन्छ। त्यसकारण पार्टीको यस्तै विषयमा केन्द्रित रहेर आजको भेला बस्दै छौँ,’ कोइराला निकट एक नेताले भने।
देउवाको ६ महिना
कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले प्रमाण पत्र पाएको ६ महिना पुरा भइसकेको छ। गत वर्ष पुष १० गते प्रणाण पत्र प्राप्त गरेको कांग्रेसको सिंगो कार्यसमितिको ६ महिने कार्यकाल यही असार १० गते पुरा भएको छ।
तर सभापति देउवाले अझैसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन्। कांग्रेसको विधान अनुसार १४ सदस्यीय पदाधिकारी हुुनुपर्नेमा एकजना मनोनित हुनै सकेको छैन। विधान अनुसार कोषाध्यक्ष्य सभापतिले मनोनित गर्नुपाउने व्यवस्था रहेको छ।
तर सभापति देउवाले मनोनित गरेका छैनन्। त्यस्तै १६८ जनाको पूर्ण केन्द्रीय समिति हुनुपर्नेमा १४७ जनामात्र केन्द्रीय सदस्य रहेका छन्।सभापति देउवाले अझै २१ जना केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने हुन्छ।
त्यस्तै विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यको अधुरो समिति रहेको छ। २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेलमात्र छन्।
त्यसकारण अब सभापति देउवाले कोइराला समूहलाई पेलेर अगाडि जान खोजेकोले अब सबै भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिमा समानान्तर समिति बनाएर जानुपर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुपर्ने सम्मको विषयमा छलफल हुने कोइराला समूहका एक नेताले बताएका छन्।







डिसी नेपाल








Facebook Comment