ललितपुरको देउराली बहुद्देश्यीय सहकारी समस्यामा, ग्राहकलाई १० हजार फिर्ता गर्दै व्यवस्थापन

डिसी नेपाल
१६ असार २०७९ १३:०६
1.3k
Shares

काठमाडौं। ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ। पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो।

हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेकाे छ। जावलाखेलमा पसल व्यावसाय गर्दै आएका भारत घर भएका बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएकोे बताए । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो। अहिले बन्द छ । अब टोकन लिनेले २८ असार मात्रै पैसा पाउँछ।’

सहकारीबाट टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ। आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ।

सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौं । कार्यालय खोलेरै काम गरिरहेका छौं। विस्तारै पैसा फिर्ता गछौं। अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं।’

उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन्। बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ।

सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए। उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनैटोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो।’

पछिल्लो संकट टार्न अध्यक्ष चौलागाई लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ।‘ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए।

पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् अप्ठेराे परेको चौलागाई बताउँछन्। भन्छन्, ‘सबैले धर्य गरेर हाम्रो काम र हाम्रो व्यवहार हेरेर विश्वास गरेमा समस्या सुल्याउन सजिलो हुन्छ।’ सहकारीले सातदोबाटो, नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत काराेबार गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.