अर्थ मन्त्रालय आफैसँग राख्न प्रधानमन्त्रीमाथि दबाव

डिसी नेपाल
२३ असार २०७९ १३:२९
112
Shares

काठमाडौं। चौतर्फी विवाद र आलोचना पछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै अहिले प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सो मन्त्रालय सम्हालेका छन्।

अब सो मन्त्रालय अहिले कांग्रेस आफैले राख्नुपर्नेमा पार्टीभित्रबाटै सभापति देउवालाई दबाव दिन थालिएको छ। शर्माको राजीनामा आएसँगै कांग्रेसका केही नेताहरु अर्थमन्त्रालय आफैले राख्नुपर्नेमा लविङ सुरु गरेका छन्।

केपी ओली सरकारको बर्हिगमन पछि पाँच दलीय गठबन्धनबाट देउवा सरकारमा सुरुमा अर्थमन्त्रालयमा कांग्रेस कै दावी रहेको थियो। तर गठबन्धनमा शक्ति सन्तुलन मिलाउँदा नेकपा (माओवादी केन्द्र) को भागमा परेर जनार्दन शर्माले अर्थ मन्त्रालयको १ वर्षे कार्यकाल सुखद रहन सकेन।

विगतका सरकारमा समेत विभिन्न मन्त्रालय सम्हालिसकेका शर्माको कार्यकाल सुखद् भएपनि यो कार्यकाका आलोचित बन्न पुग्यो।
अहिले देशमा अर्थिक संकट पर्ने अवस्थामा पुग्न लागेको चिन्ता केही अर्थ विज्ञहरुले वताउँदै आएका छन्।

यो अवस्थाबाट पार लाउन कांगेसका केही नेताहरुले खुलेरै अर्थमन्त्रालय कांग्रेसले राखेर अर्थ विज्ञ तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेलाई सो मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोग कै पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले अहिलेको अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेलाई मन्त्री बनाउन माग गरेका हुन्।

पोखरेलले भनेका छन्, ‘देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ।’

त्यस्तै अर्का केन्द्रीय सदस्य अजयबावु सिवाकोटी पनि अहिलेको आर्थिक संकट टार्न सक्ने क्षमता स्वर्णिम वाग्लेकै रहेको बताउँछन्।
उनी भन्छन्, ‘कांग्रेस सांसद मध्येबाट अर्थमन्त्री बनाउने हो अहिलेको संकट टार्न सक्ने आंट र क्षमता भएका खोज्दा राम्रो, सांसद बाहिरबाट ल्याउने हो भने स्वर्णिम वाग्ले नै उपयुक्त पात्र हुन्।’

कांग्रेस पार्टीभित्र यसरी अर्थमन्त्रालय आफैंले राख्ने दवाव आएपनि प्रधानमन्त्री देउवालाई कार्यान्वयन गर्न भने सहज छैन। बुधवार शर्मा अर्थमन्त्रीबाट राजीनामा दिएपनि बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि बनेको छानबिन समितिले निर्दोष ठहरिए पुनःशर्मालाई नै अर्थमन्त्रीमा दोहोर्याउने नेता वर्षमान पुनले बताइसकेका छन्।

र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं पनि शर्मा माथिको आरोप कसैको डिजाइन रहेको बताएका छन्। बिहीबार बसेको केन्द्रीय समितिको बैठककमा सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उचालिएको प्रचण्डको भनाइ छ। र मन्त्री पदबाट राजीनामा दिएर शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको उनले बताएका छन्।

प्रचण्डले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ। संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ। नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो।’

यता कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत भने अर्थमन्त्रीको राजीनामासँगै पार्टीका केही नेताहरुले अर्थमन्त्रालय आफैसँग राख्नुपर्ने माग आए पनि पार्टी र गठबन्धनमा यो विषयमा कुनै छलफल नभएको बताए।

‘अर्थमन्त्रीबाट शर्माजीको राजिनामा आएसँगै हाम्रा पार्टीका केही नेताहरुले अर्थमन्त्रालय आपैmले राख्नुपर्छ भन्ने कुरा मैले पनि सुनेको छु। तर पार्टी र गठबन्धनमा यो विषयको कुनै कुरा भएको छैन। र यो विषयमा मलाई धेरै जानकारी छैन, ’प्रवक्ता महतले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.