जब राईले ‘जातीय विभेद गर्दिनँ’ भने…

डिसी नेपाल
२४ असार २०७९ ११:५५
128
Shares

खोटाङ। जातीय विभेद नगर्ने प्रतिबद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ। राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत् आगामी दिनमा कुनै पनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटीले सम्मान गरेको हो।

राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पालिका कमिटी सचिव युवराज कालिकोटेले बताए।

छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित महिना दिने कार्यक्रममा राईले सबै मान्छे एक भएकाले कसैले कसैलाई विभेद नगर्न आह्वान गरेका छन्। उनले आफ्नो घरमा जुनसुकै जातिलाई प्रवेश गर्न रोकतोक नहुने घोषणा गरेका छन् ।

‘म बिन्दबहादुर राईको छोरा श्यामकुमार राई हो । म अहिले ३९ वर्ष पुगेँ। हामी सबै मान्छे-मान्छे एक हौँ। कसैले कसैलाई विभेद गर्नु हुँदैन,’ राईले घोषणा गर्दै भने, ‘मेरो घरमा जो सुकै आएर पस्न सक्नुहुन्छ । बरु केही साथीहरू आएर मेरो घरमा पस्न डराउनुहुन्छ । नडराउनुस्, कुनै छेकवार छैन।’

गत २२ जेठमा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीबाट सुरु गरिएको एक महिने राष्ट्रिय छुवाछुतमुक्त दिवस खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुगेर समापन गरिएको छ ।

दिवसको अवसरमा संघले दलित समुदायको सामाजिक र आर्थिक परिवर्तनका लागि स्थानीय सरकारसमक्ष जनचेतनामुलक, क्षमता विकास र सघन क्षेत्र विकास कार्यक्रम गर्न माग राखेको छ ।

यस्तै, ‘जातीय छुवाछुत गर्दिनँ’ भन्ने स्वघोषणा गर्ने/गराउने, जातीय छुवाछुत गर्नेलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्ने व्यवस्था गर्न, प्रत्येक वडामा दलित शिर्षकमा बजेट विनियोजन गर्न लगायतमा माग राखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।

दिवस समापनको अवसरमा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.