काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

डिसी नेपाल
२४ असार २०७९ २०:४१
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा ११ औँ अधिवेशन आजबाट सकिएको छ । असार ५ गतेबाट सुरु भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले आर्थिक बर्ष २०७९\०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव असार ८ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९\०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए । यसरी पेश गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४)गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक बर्ष २०७९\०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गर्‍यो । सभा पेश भएको आर्थिक विधेयक असार १७ गते बसेको चौथो बैठकबाट पारित भएको थियो ।

यसरी पारित भएको नीति, बजेट तथा कार्यक्रमले आगामी बर्षमा महानगरका गतिविधिहरु थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाहले विश्वाश व्यक्त गरे। ‘सभामा पेश भएका सबै प्रस्तावहरु माथि सौहाद्र छलफल भयो । सर्वसम्मत पारित भयो । बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न नीतिगत र कानुनी व्यवस्था सम्बन्धी निर्णय भयो ।’ प्रमुख शाहको भनाइ छ ।

बैठकको सहभागिता र छलफल सकारात्मक र उर्जा दिने खालको रह्यो । अधिवेशनका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख एवं बैठकका उपाध्यक्ष सुनिता डंगोलले भनिन्, ‘मागका रुपमा आएका विषय लिखित रुपमा आएका छन् । यसले संस्थागत आचरणलाई टेवा पुर्‍याउँछ ।’

आज न्यायिक समितिका सदस्यहरुको पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । आज नै सम्पन्न भएको निर्वाचनबाट वडा २९ का अध्यक्ष कुश ढकाल र वडा ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुलाई महानगरका प्रमुख शाहले पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यसैगरी निर्वाचन अधिकृत दिपक अधिकारीले न्यायिक समितिको सदस्यमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । जसमध्ये उपप्रमुख संयोजक हुने र बाँकी २ जना नगर सभा सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
अधिवेशनको पाँचौ अधिवेशनबाट महानगरका निर्देशक दिपक अधिकारीलाई निर्वाचन अधिकृत तोकेको थियो ।

आज भवन मापदण्ड २०७५ मा केही संशोधन गरिएको छ । महानगरमा पार्किङ्का लागि छुट्टै नीति नभएकोले पार्किङ्लाई व्यवस्थापनलाई सहज बनाउन गर्न मापदण्डमा केही संशोधन गरिएको हो । मापदण्डअनुसार बहुतले पार्किङ्को फ्लोर एरिया रेसियो (फार) लाई ४ कायम गरिएको छ । सेडव्याक छोडेर बाँकी सबै जमिनमा निर्माण कार्य गर्न पाइनेछ । मेकानिकल र स्टिल स्ट्रक्चरमा थप १ फार उपलब्ध हुनेछ । यो मापदण्ड स्मारक क्षेत्रमा भने लागु हुनेछैन । संशोधनअनुसार महानगर आफैँले चार किल्ला तोकेर सम्पदा क्षेत्र बनाउन सक्ने त्यसका लागि छुट्टै मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.