संवैधानिक परिषद् विधेयकविरुद्ध कांग्रेसका दुई महामन्त्री, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

डिसी नेपाल
२७ असार २०७९ १३:११
100
Shares

काठमाडौं। सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विपक्षमा उभिएका छन्।

गत बुधबार प्रधानमन्त्री देउवाले संवैधानिक परिषद् (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए। उक्त विधेयकको चौतर्फी आलोचना भइरहँदा कांग्रेसकै महामन्त्रीद्वय थापा र शर्मा विपक्षमा उभिएका हुन्।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो उक्त विधेयकको विपक्षमा उनीहरु उभिएका हुन्। तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध जनाएको थियो । तर, अहिले सोही प्रकृतिको विधेयक सरकारले ल्याएपछि यसको विरोधमा थापा र शर्मा उभिएका हुन्।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा गगन थापाले सो विधेयक मंगलबारभित्र फिर्ता हुने बताए। आइतबार कांग्रेस पदाधिकारीले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त विधेयक फिर्ता लिन आग्रह गरेको महामन्त्री थापाले जानकारी दिए। उनका अनुसार मंगलबारसम्ममा सो विधेयक फिर्ता हुनेछ।

‘पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो। संविधानविपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो। सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन। हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं? पाउँदैनौं। हिजो गलत थियो भने आज पनि गलत छ। हामीलाई गल्ती गर्ने छुट छैन भनेर आइतबार पदाधिकारीहरूले देउवासँग भनिसकेका छौँ। आज-भोलिमा त्यो विधेयक फिर्ता हुन्छ,’ गगन थापाले कार्यक्रममा भने।

यस्तै अर्का महामन्त्री शर्माले ओली सरकारले ल्याएको अध्यादेशसँँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

उक्त विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद् छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.