राप्रपाभित्रको विवाद उत्कर्षमा, ‘बृहत एकता’ नगरे विकल्प खोज्ने असन्तुष्ट पक्षको चेतावनी

डिसी नेपाल
२८ असार २०७९ १०:४४
6.1k
Shares

काठमाडौं। वर्तमान नेतृत्वप्रति असन्तुष्टी जनाउँदै  ‘बृहत एकता’ को पक्षमा अभियान संचालन गरिरहेको असन्तुष्ट पक्षले नेतृत्वलाई दबाव दिन ६ सदस्यीय समिति गठन गरेको छ।

समितिमा नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, दिलबिकाश राजभण्डारी, राजाराम श्रेष्ठ, केशब श्रेष्ठ र दमन बस्नेत रहेका छन्। समितिले समान विचारधारा भएका दल, नेता र समूहसँग वार्ता गर्ने बताइएको छ।

असन्तुष्ट पक्षले महाधिवेशनबाट राजेन्द्र लिङ्देनले नेतृत्व लिएपछि पार्टीलाई समाबेशी, सन्तुलित, योजनाबद्ध, दूरदर्शी र फराकिलो ढंगले संचालन गर्न नसकेको आरोप लगाउँदै आएको छ।

असन्तुष्ट पक्षले कमल थापा नेतृत्वको राप्रपा नेपाल, रवीन्द्र मिश्रको विवकेशील साझा पार्टी र केशवबहादुर विष्टलगायत समान विचारधारा भएका दल तथा नेतासँग एकता गर्नुपर्ने माग राख्दै आएको छ।

नेतृत्व त्यसका लागि तयार नभएपछि दबाव दिने उद्देश्यले ६ सदस्यीय समिति गठन गरिएको समितिका सदस्य दिलनाथ गिरीले बताए।
स्थानीय निर्वाचन अगाडि पार्टीले आयोजना गरेका आमसभामा जनउभार देखिएको तर निर्वाचन परिणाम निराशाजनक आएको भन्दै तत्काल विचारधारा मिल्ने समूहसँग एकता गर्नुपर्ने असन्तुष्ट पक्षको भनाइ छ।

‘पार्टीलाई उहाँले जुन ढंगबाट हाक्नुहुन्छ होला भन्ने हामीले सोचेका थियौं, त्यो हुन सकेन। हामीले सोच्ने र उहाँले गर्ने काममा आकाश जमिनको फरक रह्यो ,हामी दुखी छौं,’ असन्तुष्ट एक नेताले भने, ‘राजेन्द्र लिङ्देनमा झन् बढी अहंकार, ब्यक्तिकेन्द्रित सोच, आलोकाँचो पन देखियो जुन दुर्भाग्यपूर्ण छ।’

असन्तुष्ट पक्षले आगामी निर्वाचनलाई लक्षित गर्दै बृहत एकता गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यस विषयमा आनाकानी गरे विकल्प खोज्ने चेतावनी समेत दिएको छ। केन्द्रीय समितिमा कमल थापा पक्षहरुको बहुमत रहेको भन्दै नेतृत्वले वृहत एकता गर्ने विषयमा ढिला गरे विकल्प खोज्ने सहमति भएको छ।

पार्टी भित्र महिला संगठनमा हात हालाहालको स्थिति पैदा हुँदा पनि नेतृत्वले आफूलाई थाहा नभएको र यस्ता बिषय सामान्य हुन् भन्नू आपत्तिजनक भएको असन्तुष्ट पक्षको बैठकले ठहर गरेको छ।

‘एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको आठ महिनाको अवधिमा देखिने गरि केही पनि उपलब्धी हुन सकेन,’ असन्तुष्ट पक्षका एक नेताले डिसी नेपालसँग भने, ‘स्थानीय चुनावको परिणाम उत्साहजनक भएन। अब संघीय र प्रदेश निर्वाचनमा पनि राप्रपाले एक्लै जित्ने अवस्था छैन।’

असन्तुष्ट पक्षको राजधानीको एल्लो प्यागोडा होटलमा बसेको बैठकले पार्टीप्रतिको आकर्षणलाई भोटमा रुपान्तरण गर्न नसकेको, स्थानीय तह निर्वाचनमा संतोषजनक मत प्राप्त गर्न नसकेको, अन्य दलसँग सम्बन्ध सुधार नभएको निष्कर्ष निकालेको छ।

आगामी संघीय निर्बाचन बारे स्पष्ट धारणा, योजना र रणनीति नभएको, कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा नेतृत्वले अराजनीतिक संस्कार र चरित्र प्रदर्शन गरेको निष्कर्ष निकालेको  नेताले  गिरीले जानकारी दिए।

‘नेतृत्व सस्तो लोकप्रियताको पछि लाग्नु हुँदैन,’ नेता दिलनाथ गिरीले भने, ‘नेतृत्व गम्भीर हुने र सच्चिने मार्गमा नभएको यथास्थितिबाट र थप एकांकी ढंगबाटछ चल्न खोजेको देखियो। यसले थप जटिलता उत्पन्न गर्छ।’

उनले राप्रपा बलियो बनाउने हो भने कमल थापा, रवीन्द्र मिश्र, केशरबहादुर बिष्टलगायत सबै एकै ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताए।
सबै पक्षसँग वार्ता गर्न गठित समितिले एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापासँग छलफल गरिसकेको छ।

‘महाधिवेशनमा हामी सबैले राजेन्द्रजीलाई सहयोग गरेकै हो,’ एक नेताले भने, ‘तर चुनाव जितेपछि जुन अपेक्षा उहाँबाट गरिएको थियो, सो अनुसार काम भएन।’ आगामी चुनावमा सबै जसो दलले गठबन्धन गर्ने तर राप्रपासँग गठबन्धन गर्ने दल नै नहुने हो कि भन्ने चिन्ता उब्जिएको असन्तुष्ट पक्षको भनाइ छ।

असन्तुष्ट पक्षले आगामी निर्वाचनलाई लक्षित गर्दै बृहत एकता गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यस विषयमा आनाकानी गरे विकल्प खोज्ने चेतावनी समेत दिएको छ। केन्द्रीय समितिमा कमल थापा पक्षहरुको बहुमत रहेको भन्दै नेतृत्वले वृहत एकता गर्ने विषयमा ढिला गरे विकल्प खोज्ने सहमति भएको नेता गिरीले जनाए।

याे पनि पढ्नुस्

कमल थापालाई फर्काउन र परिआए नेतृत्व समेत दिन लिङ्देनलाई पार्टीभित्रैबाट दबाब




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.