कोरियाको आम्दानी, कुखुरापालनमा लगानी

डिसी नेपाल
२८ असार २०७९ १४:५३
212
Shares

गलकोट। सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो। व्यावसायमै राम्रो सम्भावना देखेका उनले आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए। इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन्। उनले ६ वर्ष कोरिया बसाइँ टुङ्गएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका हुन्।

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन्। “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो” उनले भने, “दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु।” जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन्।

उहाँले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गरेका हुन्। सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताए।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले भने। “सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक/डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन” जिसीले भने,“अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ।”

उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन्। नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उनले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिए। कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो। उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताए। अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.