फेरि सभापति उठ्ने देउवाको ‘घुर्की’, पार्टीलाई भन्दा गठबन्धनलाई प्राथमिकता

सम्भव सिंह ठकुरी
३० असार २०७९ १४:२८
52
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर पुन सभापतिमा उठ्ने घुर्की लगाएका छन्।

बुधवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जितेपनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवाले आफूलाई फेरि सभापति उठ्ने रहर नभएको तर धेरै जिस्क्यााए विधान संशोधन गरेर फेरि उठ्ने चेतावनी दिए।

कांग्रेसको विधान अनुसार दुई कार्यकाल भन्दा धेरै सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो।

सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकमा कांग्रेसले हिन्दु राज्यको एजेण्डा लिनुपर्ने देखि संघीयता खारेजीसम्मको मागहरु उठेको छ। बिराटनगरका पूर्वमेयर तथा केन्द्रीय सदस्य भीमप्रसाद पराजुलीले कांग्रेसले हिन्दु राज्यको एजेण्डा देखि संघीयता खारेजीसम्मको एजेण्डा बोक्नुपर्ने बताएका हुन्।

डा.शेखर कोइराला समूहका नेताहरुले गठबन्धन गर्न नहुने र कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राख्दै आएका छन्। त्यसको खण्डन गर्दै देउवा समूहका नेताहरु गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन्।

विशेषतः यो बैठक गठबन्धन गर्ने कि नगर्ने मै केन्द्रित रहेको छ। सभापति देउवा निर्वाचित भएको छ महिना बितिसकेको छ। तर यो बितेको छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गरेका छैनन्, यसबारे उनी पक्षीय केन्द्रीय सदस्यहरूले खासै विरोध गरेका छैनन्।

कांग्रेस केन्द्रीय समिति १६९ सदस्यीय हो। सभापति देउवाले अझै २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। अहिले कांग्रेसमा १४९ केन्द्रीय सदस्य छन्। यो विषयमा पनि देउवा पक्षका नेताहरुले कुरा राख्न सकेका छैनन्।

त्यस्तै कांग्रेसको प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल एक–एक जनामा सिमित रहेको छ। नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्धवान गुरुङलाई सभापति देउवाले मनोनयन गरेका छन्।

त्यसकारण देउवाको कार्यशैली प्रति असन्तुष्ट जनाउँदै डा.कोइरालाले भने १२ बुँदे लिखित धारणा राख्दै गठबन्धन गरेर केही पालिकामा सिट बढाए पनि आदर्श र सिद्धान्तलाई कता लैजाँदैछौं? भन्ने प्रश्न गरेका थिए।

यसरी कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा प्रष्ट दुई धार देखिएको छ। बुधवारको बैठकमा पार्टी नीति नेतृत्व र गठबन्धनको भन्दा पनि महामन्त्रद्वय गगन थापा र विश्वप्रकाश शर्मा माथि खनिएका थिए।

केन्द्रीय सदस्य राजीव ढुंगानाले गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री बन्न नसकेर कुनै गुटको महामन्त्री बनेको आरोप लगाए। अर्का केन्द्रीय सदस्य केशवकुमार वुढाथोकीले त महमन्त्रीहरुले केटाकेटीपन देखाएको सम्म भन्न भ्याए।

देउवाको ध्यान गठबन्धन कि पार्टी ?

संघ र प्रदेशको निर्वाचन लगभग कात्तिक र मंसीरसम्म गरिसक्ने निर्वाचन आयोगले तयारी गरिरहेको छ। तर सरकारले मिति घोषणा गरिसकेको छैन। यो निर्वाचनमा सभापति देउवाको पहिलो प्राथमिकता गठबन्धनलाई निरन्तरता दिने र कांग्रेसलाई पहिलो पार्टी बनाउनेमै रहेको छ।

त्यसैले पनि उनी पक्षिय नेताहरु देउवाको बचाउ गर्दै गठबन्धनलाई जोड र निरन्तरता दिने पक्षमा देखिएका छन्। तर केन्द्रीय सदस्य मीन विश्वकर्मा भने सभापतिमाथि पार्टी र गठबन्धन दुवैलाई मजबुद बनाउने दायित्व रहेको बताउँछन्।

‘अहिले सभापतिमाथि पार्टी र गठबन्धन दुवैलाई मिलाएर बलियो बनाउने दायित्व रहेको छ।कमजोर पार्टी र बलियो गठबन्धन पनि राम्रो हुँदैन र बलियो पार्टी र कमजोर गठबन्धन पनि देशको लागि राम्रो हुँदैन,’ विकले भने, ‘त्यसकारण दुवैलाई सन्तुलित ढंगबाट मिलाएर लैजाने दायित्व सभापतिको रहेको छ। र सोही अनुसारको काम पनि गर्नुभएको छ।’

सभापतिले विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्छु भन्नु भएको छ।त्यसलाई कुन रुपले बुझ्ने ? भन्ने प्रश्नमा विकले डिसी नेपालसँग भने,े ‘उहाँले ठट्टा गरेर भन्नु भएको थियो। बैठकमा विभिन्न क्रिया प्रतिक्रिया उठेपछि सभापतिले ठट्टा गर्नुभएको थियो। उहाँले यसो भन्दै गर्दा केन्द्रीय समिति नै हाँसोमय बनेको थियो। तर प्रधानमन्त्री तथा पार्टी सभापतिले बोल्नु भएकाले प्राथमिकताका साथ हेरियो। यसलाई राजनीतिकरण गर्नुहुन्न।’

तर कोइराला समूूहका नेता गुरुराज घिमिरे भने सभापति तथा प्रधानमन्त्री भनेको परिपक्व र सुझबुझ भएको व्यक्ति हुने भएकाले केन्द्रीय सदस्यको प्रतिक्रिया आउन साथ हलुका ढंगले बोल्न नहुने बताउँछन्।

र सभापतिको कार्यकाल ६ महिना बितिसक्दा पनि पार्टीलाई चलायमान बनाउन नसकेको घिमिरेको आरोप रहेको छ।

‘६ महिना बित्दा समेत सभापतिले केन्द्रीय समितिलाई पूर्णता दिनसक्नु भएको छैन।भ्रातृसंस्थाहरु निष्कृय जस्तै बनेको छ। भ्रातृसंस्था १ जनाको भरमा छोडिएको छ।पार्टीमा सामूहिक छलफलको कमी भएको छ। पार्टी विधिविधान अनुसार चल्न सकेको छैन,’ घिमिरेले भने ‘त्यसकारण सभापतिले गठबन्धन भन्दा पार्टीलाई प्राथमिकता दिनुपर्ने आवश्यक रहेको छ। हामीले यो कुरा बारम्बार भन्दै आएका छौँ। केन्द्रीय समितिका केही साथीहरुले पनि कुरा राखिरहनु भएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.