जडिबुटी अभियन्ता ‘दाह्री बा’
पाँचथर। फिदिम-३ का गंगा राई (६५) पछिल्लो समय जडिबुटीमा जीवन खोज्न थालेका छन्। फिदिम बजारदेखि १५ किलोमिटिर दक्षिणपूर्व सुम्निमा क्षेत्रलाई उनले जडिबुटी ‘हब’ को रुपमा बिकास गर्न थालेका छन्।
चार वर्षदेखि सिलटिमुर, चिराइतो, पाखनबेत, बुढोऔषधि, चिम्फिङ, सतुवा, पाँचऔले, खानाक्पा र भूतकेशजस्ता जडिबुटीको व्यवसायिक खेतीतर्फ उनी र उनको समाजलाई आकर्षित गर्दैआएका छन्।
पछिल्लो समय सिलटिमुर र चिराइतो उनको गाउँमै प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुन थालेको छ। गाउँलेहरु जडिबुटीमा पैसा आउने देखेपछि अन्य वालीको बिकल्पमा जडिबुटीको खेति खोज्न थालेका छन्।
नेपाल प्रहरीमा जागिर खान २०३३ मा प्रवेश गरेका उनी जागिरकै क्रममा राजधानीमा ३ दशक बिताए। चार वर्षअघि गाउा फर्केर सिलौटी साना किसान कृषि सहकारी स्थापना गर्दै उनी कृषि र त्यसमा पनि जडिबुटीतर्फ मोडिएका हुन्।
आफ्नो जग्गा सहकारीलाई निःशुल्क दिएर भवन निर्माणमा जुटेका उनी त्यो सहकारीको अध्यक्ष पनि हुन्। व्यवसायिक खेतीका लागि १० वटा टनेलमा तरकारीदेखि जडिबुटी खेती पनि गर्दै आएका राई ७ वटा गाई पालेर दैनिक ४० लिटरसम्म दूध बिक्री गर्दैछन्।
दिन उज्यालोमा रुपान्तरण भएपछि उनको दैनिकी निरन्तर कृषिमै सक्रिय हुन्छ । उठेपछि गाई, बाख्राको हेरचाह अनि तरकारी र जडिबुटीको गोडमेलमै दिन बित्ने गरेको उनले सगर्व सुनाए ।
गाउँमा उनलाई ‘दाह्री बा’ भनेर सम्बोधन गर्छन्। उनी गाउँलेलाई मिहेनत गरेसम्म कुनै चिजको अभाव नहुने भन्दै सक्रिय रहेर कृषि कर्ममा लाग्न प्रेरणा दिइरहने सहकारीका प्रवन्धक महेन्द्र लुइटेलले सुनाए ।
प्रवन्धक लुइटेलका अनुसार राईको हिम्मतका कारण सहकारीमा १ करोड १० लाख रुपैयाँ बचत र ऋण लगानी भएको छ। स्थानीयहरु नियमित बचत गर्ने र आवश्यक पर्दा सस्तो दरमा ऋण लिएर गर्जो टार्ने गरेको राईले बताए। उनले भने, ‘हामी अब जडिबुटीमा केन्द्रीत भएर जीवनस्तर उकास्ने र सहजरुपमा व्यवहार सञ्चालन गर्न लागिपरेका छौं।’







डिसी नेपाल








Facebook Comment