एसपीपीमा सहभागी नहुने पत्रबारे सरकारलाई रुलिङ गर्न माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि …

डिसी नेपाल
४ साउन २०७९ १६:२३
152
Shares

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

मन्त्रिपरिषदले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे।

सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरेपनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राखे ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए ।

सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुगेका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.