‘१२ प्रतिशत मत प्रभावित पार्न नसक्नेले प्रधानमन्त्री बन्न प्रयास गर्नु लज्जाको विषय’

डिसी नेपाल
४ साउन २०७९ २०:३२
720
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई नेकपा एमालेले प्रधानमन्त्री बन्न देश विदेश दौडाहामा निस्किएको टिप्पणी गरेको छ। प्रचण्डको भारत भ्रमणमा निर्वाचनपछि सत्ता समिकरण गर्ने विषयमा छलफल भएको चर्चा चलिरहँदा एमालेले प्रचण्डका भारत भ्रमणलाई प्रधानमन्त्री बन्न देश विदेश दौडाहा भनेको हो।

बुधबार नेकपा एमाले प्रचार विभागले आयोजना गरेको अनलाइन सञ्चारमाध्यमका सम्पादहरुसँगको अन्तरक्रियामा बोल्दै एमाले महासचिव शंकर पोखरेलले १२ प्रतिशत मतलाई प्रभावित पार्न नसक्ने माओवादीले फेरि प्रधानमन्त्री बन्नका लागि प्रयास गर्नु लोकतन्त्रमा लज्जाको विषय भएको टिप्पणी गरे।

उनले स्थानीय तह निर्वाचनमा कांग्रेससँग नभइ गठबन्धनसँग एमाले हारेको बताए। ‘एमालेले ३४ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३३ प्रतिशत मत पाएको छ। माओवादीले १२ प्रतिशत मत प्रभावित पार्न सकेको छैन,’ महासचिव पोखरेलले भने, ‘१२ प्रतिशत मत प्रभावित पार्न नसक्ने माओवादी फेरि प्रधानमन्त्री बन्नका लागि देश विदेश दौडाहामा निस्किएको छ।’

माओवादी केन्द्र, एकीकृत समाजवादीबीच बाम गठबन्धन गर्ने विषयमा छलफल चलिरहेको बेला एमालेले चार प्रतिशत मत पाएको एकीकृत सजमावादी र १२ प्रतिशत मत पाएको माओवादीसँग तालमेल आवश्यक नभएको महासचिव पोखरेलको भनाइ छ।

फरक प्रसंगमा महासचिव पोखरेलले कालोधनलाई सेतो बनाउन नमान्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिएको टिप्पणी गरे। एम अधिकारी गभर्नर नभएको पार्टी र स्वयं गभर्नरले नै स्पष्ट पारिसक्दासमेत प्रहार नरोकिनु देशलाई श्रृलंका बनाउने योजना भएको आरोप लगाए।

एमालेको अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम राखिएपछि ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो भन्दै उनको राजीनामा वा बर्खास्तीको माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले चरणबद्ध सडक आन्दोलन जारी राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.