प्रेस युनियन महाधिवेशनः गुटबन्दीबाट उम्मेदवार चयन

सम्भव सिंह ठकुरी
५ साउन २०७९ ७:०१
136
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनमा गुटगत प्रभाव बढेको छ। यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा हुने ९ औँ महाधिवेशनमा पार्टीका शीर्ष नेताहरुको गुटबन्दीको आधारमा उम्मेदवार चयन भएको छ।

कांग्रेसको गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा जस्तै प्यानलसहित संस्थापन पक्ष र संस्थापन इतर पक्ष छुट्टाछुट्टै टिम बनाएर निर्वाचनमा जाने निश्चित देखिएको छ।
संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र (डा.शेखर कोइराला-महामन्त्री गगन थापा) समूहबाट पत्रकारहरुले उम्मेदवार दिने पक्का पक्की बनेको छ।

संस्थापन पक्षबाट अध्यक्षकालागि अनिता बिन्दुसहित पदाधिकारीको टुंगो लागिसकेको छ। संस्थापन समूहले कार्यदल नै बनाएर उम्मेदवार चयन गरेको हो।
उम्मेदवारी टुंग्याउन बनेको कार्यदलमा वर्तमान अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समिरजंग शाह, डा. सुरेश आचार्य, डा. नवराज लम्साल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो।सो कार्यदलले मंगलबार अध्यक्ष पदकालागि अनिता बिन्दुको नाम फाइनल गरेको हो।

अध्यक्षसहित पदाधिकारीमा आकांक्षी देखाएका विभिन्न पत्रकाहरुमध्येबाट बिन्दुको प्यानलसहित उम्मेदवार चयन गरेको छ। सो प्यानलमा अध्यक्षमा बिन्दु, बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल, उपमहासचिवमा केशब साउद, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार बनाउने निर्णय भएको छ। अध्यक्षका उम्मेदवार बिन्दु नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष समेत हुन्।

त्यस्तै संस्थापन इतर समूहबाट भने आधिकारिक उम्मेदवार टुंगो लागिसकेको छैन। आकांक्षी धेरै भएकाले छलफल र संवाद चलिरहेको बताइएको छ। इतर समूहबाट भने अध्यक्ष पदकालागि शिव लम्साल र दीपक आचार्यबीच आधिकारिक उम्मेदवारको प्रतिष्पर्धा भएको युनियनका एक नेताले बताए। ती नेताका अनुसार संस्थापन पक्षबाट एकल उम्मेदवार बनेपछि इतर पक्षमा पनि एकल उम्मेदवार बनाउनुपर्ने दबाब बढेको छ।

यस्तै महासचिव पदमा नकुल अर्याल, खिला कार्की, दिलिप पौडेल, रमेश वाग्ले र आकांक्षी छन्। उनीहरुले आफ्नो उम्मेदवारीको प्रचार प्रसार तीब्रताका साथ दिइरहेका छन्।

‘हाम्रो समूहबाट पदाधिकारिमा धेरै जना नेताहरुले आकांक्षा व्यक्त गर्नुभएको छ। तर हामी बिहीबारसम्म फाइलन गर्छौँ,’ती नेताले भने। कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका डा.शेखर कोइरालाले युनियनका पूर्वअध्यक्षहरुसँग गत असार २१ नै गते यही महाधिवेशनको विषयमा छलफल गरेका थिए। सो छलफलमा तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोख्रेल, कबिर राणा, बिपुल पोख्रेल, पोषण केसीलगायतको उपस्थिति रहेको थियो।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। युनियनका ति नेताका अनुसार देशभरिबाट करिब १६ सय महाधिवेशन प्रतिनिधिका  व्यवस्थापनका कुराहरु पूरा भइसकेको छ।

सो कार्यक्रमलाई प्रधानमन्त्री तथा सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि ति नेताले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन शत्रमा पार्टीका शीर्ष नेताहरु सहित विभिन्न मन्त्रीहरुलाई पनि आमन्त्रण गरिएको छ।

महाधिवेशनले कति पदाधिकारी निर्वाचित गर्छ ?

प्रस्तावित नेपाल प्रेस युनियनको विधानमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसँगै खुल्ला २, महिला १, समावेशी १, सात प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ र उपत्यकाबाट १ गरी ८ उपाध्यक्ष, महासचिव १, खुल्ला ३, महिला २, समावेशी १ गरी ६ उपमहासचिवको व्यवस्था गरिएको छ।

यस्तै विधानमा खुल्ला ३, महिला २, जनजाति १, मधेसी १, दलित १, खसआर्य १, थारु १, पिछडिएको क्षेत्र १ गरी ११ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.